पर्यटन/संस्कृति

नेपालको सुन्दर दृश्य कलाकारको चित्रमा

काठमाडौँ । केही महीनाअघि नेपाल घुम्न आएका भारतका कलाकार मनोज जधारलाई पाटन दरबार स्वायरले मन छोयो । प्यागोडाशैलीका सुन्दर पुरातात्विक क्षेत्रका दृष्य क्यामरामा मात्रै होइन आर्ट पेपर नउतारी उनी बस्न सकेनन् । भारतमा फरक खालका कलाशैलीमा चित्रकारिता गर्दै आएका उनलाई नेपालको मठमन्दिर बौद्धगुम्बाका बनोट खास लाग्यो । उनले यस्तैयस्तै प्राकृतिक, पुरातात्विक र ऐतिहासिक दृष्य सङ्गालेर लगे ।

अर्का भारतीय चित्रकार सीमा घियाले पुरातात्विक क्षेत्रमा दौरा सुरुवालमा सजिएका एक बालकलाई आफ्नै तालमा डुल्दै गरेको देखे । अझ शिरमा पहिरिएको भादगाउँले टोपीले उनको मनलाई थप तरङ्गीत बनायो । पानी रङले चित्र खिचेर उनी फर्के । समीर नाडाफ पशुपतिनाथको मन्दिर र आसपासका दृष्यलाई आर्ट पेपरमा उने। खुलायो हिरेमान, मनोज सुकलले पनि नेपाली धार्मिक तथा ऐतिहासिक क्षेत्रका दृष्यलाई आफ्नो क्यान्भासमा उतारे । उहाँहरुले नेपालमा घुम्दा कैद गरेका ती दृष्य अहिले काठमाडौँस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा झल्किरहेका छन् ।

“आफ्नो देशको संस्कृतिलाई अर्का देशका कलाकारले आर्ट पेपरमा सङ्गाल्दा कसको मन फुरुङ्ग हुन्न, यही हो सम्बन्ध भनेको, कलामार्फत विश्व समुदायलाई नै एक बनाउन सकिन्छ भन्ने सन्देश कलाले दिनसक्छ”, चारदेशीय चित्रकला प्रदर्शनीका कार्यक्रम संयोजक एवम् अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङले भने ।

उनका अनुसार पाँच, सात वर्ष पहिले नेपाल घुमेर फर्किएका धेरै विदेशी कलाकारले अहिले पनि नेपाली कला संस्कृतिका चित्र बनाएर प्रदर्शन गरिरहेका छन् । कलाका माध्यमबाट देशलाई विश्वसामु परिचित गराउन यस्ता कार्यक्रम कोसेढुङ्गा सावित हुने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले बताए । उनले पनि स्वयम्भू र त्यसआसपास देखिएका दृष्यलाई पानी रङमा सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् ।

यहाँ यही भदौ ७ गतेदेखि शुरु भएको कला प्रदर्शनीमा चिनियाँ कलाकार पिङ गुओले खोलामा बग्दै गरेको पानी र त्यसमा देखिएको छायाँलाई प्रस्तुत गरेका छन् । कलाकार लि झाओले गाउँले बस्तीसँगैको देखिएको सुन्दर प्राकृतिक दृष्यलाई उतारेका छन् । बङ्गलादेशको कलाकार मसहुद अहमदले समुद्री किनार र त्यस वरपरका दृष्यलाई प्रष्ट्याएका छन् ।

नेपाली कलाकार भीम श्रेष्ठले बाँसुरीको धुन निकाल्दै गरेका वृद्धलाई कलामा उतारेको दृष्य, एनवी गुरुङले नेपालको मौलिक बाजा सनाही बजाउँदै गरेका व्यक्तिको चित्रलाई दुरुस्त पारेका छन् भने चितवनका कलाकार डि बरालले अग्लो पहाडबाट देखिएको दृष्यलाई कैद गराएका छन् । विभिन्न देशमा मिश्रित रङ र कलाले साँच्चै नै भाइचारा विस्तारमा सहयोगी बनेकोछ ।

अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा) को सहकार्यमा शुरु भएको प्रदर्शनी भदौ १७ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँस्थित प्रतिष्ठानको कार्यालय नक्सालमा जारी कला प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश र चीनका चर्चित कलाकारको ८० चित्र समावेश गरिएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।

प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र नेपालको ४३ कलाकारका चित्र समावेश गरिएको छ । कलाका माध्यमबाट ती देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित गरिएको प्रदर्शनी नयाँ र पुराना कलाकारको सिकाइ आदानप्रदानको थलो भएको कलाकारले बताएका छन् ।

नव कलाकार यहाँ सिक्नका लागि दैनिकरुपमा सहभागी छन् । उनीहरुले आफ्नै देशमा बसेर अन्तर्राष्ट्रियरुपमा ख्याति कमाएका कलाकारका चित्र अवलोकन गर्न पाउँदा सिकाइमा उपलब्धि हासिल हुने युवा कलाकार कान्छाकाजी भासीमाले बताए । प्रदर्शनीमा आज कलाकार दिराम पाल्पालीले स्थलगतरुपमै चित्र बनाएर सहभागी माझ प्रदर्शन गराए । प्रदर्शनीमा स्वदेशी र विदेशी अवलोकनकर्ताको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।