बाग्मती

इँटा उद्योगमा डोजर लगाउँदा १० करोड नोक्सानी

काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ ।महासङ्घले जारी गरेको विज्ञप्तिमा उद्योगका चिम्नि, पाकेका इँटा, बासस्थान तथा कार्यालय भवन ध्वस्त हुँदा सो मूल्यबराबरको सामग्री क्षति भएको आरोप लगाउँदै त्यस कार्यको भत्र्सनासमेत गरेको छ ।

सरकारले उद्योग प्रतिष्ठानको विकास, प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा उल्टो डोजर लगाएर व्यक्तिगत सम्पत्ति नोक्सानी पुर्‍याउने, उद्योगी व्यवसायीलाई मानसिकरुपमा यातना दिने कार्य गरेकाले यसको छानविन गरी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकाय समक्ष महासङ्घले माग गरेको छ । त्यस्तै पछिल्लो समयमा काठमाडौँको चन्द्रागिरि नगरपालिकालेसमेत आफ्नो क्षेत्रभित्रका इँटा उद्योग सञ्चालनमा रोक लगाउन पत्र काटिसकेको भन्दै यसले संवैधानिक हक हननको घटना बढाएको महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परम्परागत भुस्से इँटा बनाउन छोडेर आधुनिक प्रविधि प्रयोग गर्दै आएको र यसबाट वायु प्रदूषण कम गर्न योगदान पुर्‍याउँदै आएको जनाइएको छ । महासङ्घले इँटा व्यवसाय विद्यमान कानूनको विधि र प्रक्रियाअनुसार दर्ता भएका, कर तिर्ने गरेका र सामाजिक उत्तरदायित्वका कामसमेत गर्दै आएकाले ती देशका जिम्मेवार व्यवसायी भएको उल्लेख गरेको छ ।