पर्यटन/संस्कृति

पथप्रदर्शक र भरिया विना पदयात्रा गर्छन् पर्यटक

चिप्लेढुङगा । नेपाल घुम्न आएका विदेशी पर्यटक एक्लाएक्लै विभिन्न पदमार्गमा आफूखुशी पुग्ने गरेका छन् । पर्यटकमाथि खासै निगरानी नहुँदा र लचिलो नीति रहँदा पर्यटकमाथि विभिन्न घटना घट्ने गरेका छन् भने उनीहरुबाट पनि अवाञ्छित गतिविधिहरु हुने गरेका छन् । नेपालको समृद्धिको आधार पर्यटन भनेर सरकारले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु अघि सारेको छ । यद्यपि, पर्यटक स्वयंबाट विना पथप्रर्दशक र भरिया विभिन्न ठाउँ पुग्दा त्यसले सकारात्मक सन्देश प्रवाह गर्न भने नसकेको पथप्रदर्शकहरु बताउँछन् ।

पर्यटकका लागि पोखरा एउटा उत्कृष्ट गन्तब्यमा पर्ने गरेको छ । पर्यटक विशेष गरी पोखराको प्राकृतिक सुन्दर छटाहरुको दृश्यावलोकन गर्न र साहसिक खेलहरुमा रमाउन आउने गरेका छन् । नेपाल आउने पर्यटकमध्ये ७० प्रतिशत विभिन्न पदयात्रामा पुग्ने गरेको ट्रेकिङ्ग एजेन्सिस एशोसियशन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलको भनाइ छ ।

टान पश्चिमाञ्चलको तथ्याङ्क अनुसार टिम्स (ट्रेकर्स इमफर्मेशन मानेजमेन्ट सिस्टम) मार्फत आर्थिक वर्ष २०७५ः७६ मा २२ हजार ३८४ तेस्रो मुलुकका पर्यटक पथप्रर्दशक र भरिया लिएर पदयात्रामा गएका थिए । सार्क मुलुकबाट ग्रुप टिम्समा जाने २७ हजार ६६८ जना रहे तर, यिनीहरु मुक्तिनाथ दर्शन गर्न गाडीबाट जाने भएकाले पथप्रदर्शक र भरियाको जरुरत पर्दैन । यो अवैधानिक भएको टान अध्यक्ष भुजेलको भनाइ छ । तेस्रो मुलुकको लागि ग्रुप टिम्स १ हजार र सार्क मुलुकको लागि ३ सय रुपैयाँ लाग्छ ।

आव २०७५ः७६ मा सार्क मुलकबाट ४ हजार २७८ र अन्य मुलुकबाट २० हजार ५७३ पर्यटक गरी जम्मा २४ हजार ८५१ (पथप्रदर्शक र भरिया बिना) पदयात्रा गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको तथ्याङ्क छ । नेपाल पर्यटन बोर्डबाट तेस्रो मुलुकका पर्यटन पदयात्रा जानेले २ हजार र सार्क मुलुकको पर्यटकले ६०० रुपैयाँ तिर्नु पर्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रबाट आव २०७५ः७६ मा ७४ हजार ३४३ जनाले प्रवेशाज्ञा लिएको देखिन्छ । यी तथ्याङ्कलाई नियाल्दा पर्यटक पथप्रदर्शक र भरिया लिएर जाने झण्डै २३ हजार मात्रै देखिन्छ भने ५० हजार भन्दा बढी पथप्रदर्शक र भरिया विना गएको भेटिन्छ ।
पर्यटन मन्त्रालय विदेशी पर्यटकको सवालमा निकै लचिलो हुँदा यो समस्या देखिएको अध्यक्ष भुजेल बताउछन् । उनी भन्छन् – “आफ्नो देशको प्राकृतिक, भौगोलिक र सांस्कृतिक अवस्थालाई हेरेर सोही अनुसारको नीति बनाउनु पर्छ र त्यसको कार्यान्वयनमा सरकार लाग्नुपर्छ ।” अर्कोतर्फ पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र टानबीचको त्रिपक्षीय सम्झौता भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा यस्तो स्थिति देखापरेको हो ।

विदेशी पर्यटकलाई समेत पथप्रदर्शक लिएर जानुपर्ने अनिवार्य नियम नभए पछि पर्यटक आफूखुशी हिँड्ने गरेको उनको भनाइ छ । भुजेल भन्छन् – “विदेशी पर्यटक पथप्रदर्शक विना हिँड्दा जोखिम बढेको छ । पर्यटक एक्लै हिँड्ने गर्दा ट्र्याक आउट हुने गरेको छ । यस्तो अवस्थामा पर्यटकका बारेमा जानकारी लिन समेत कठिन हन्छ ।” टान पोखराले गण्डकी प्रदेशको बेंसीशहरको लमजुङ, धम्पुस, बिरेठाँटी र म्याग्दी तातोपानी टिम्स काउण्टरबाट पदयात्रीको सूचना सङ्कलन गर्छ ।

पर्यटक प्रहरी प्रमुख लेकसाइडका भगवती तिमिल्सिना पर्यटकहरु आफूखुशी एक्लाएक्लै हिँड्दा हराउने र विभिन्न समस्यामा पर्ने गरेको बताउछन् । उनका अनुसार गत आवमा मात्रै पथप्रदर्शक र भरिया विना पदयात्रामा गएका सात पर्यटकलाई विभिन्न ठाउँबाट उद्धार गरिएको थियो । यस अलावा ट्रेकिङ व्यवसायी सङ्घले पनि उद्धार गर्ने गर्छ । नेपालको मौसम र भौगोलिक अवस्थालाई बेवास्ता गरी केवल नक्शाका आधारमा मात्र हिँड्दा जोखिम हुने तिमिल्सिनाको भनाइ छ ।

नेपालको भौगोलिक अवस्थिति र मौसमको अवस्थाका बारेमा विदेशी पर्यटक जानकार नहुने र त्यसले समस्या निम्त्याउने झण्डै २० वर्षदेखि ट्रेकिङ व्यवसायमा आवद्ध रहँदैआएका थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङका सञ्चालक लक्की कार्की बताउछन् । केही समय अघि सगरमाथाको चुचुरो र तिलिचो ताल पुग्ने विदेशी नागरिकले नाङ्गो तस्वीर खिचेर सामाजिक सञ्जालमा राखिदिँदा नेपालको धर्म, संस्कृति र कानूनको खिल्ली उडाउने काम भएको प्रतिक्रिया उनले दिए । पथप्रदर्शक विना जाने पर्यटकबाट हुने यस्ता अवाञ्छित गतिविधि रोक्न पर्यटन नीतिमै परिर्वतन आवश्यक रहेको कार्कीको भनाइ छ ।

पोखरामा अहिले झण्डै एक हजार ४०० जना अनुमति प्राप्त पथप्रदर्शक छन् भने रोजगारी पाउने ३०० को हाराहारीमा मात्रै छन् । युनियन अफ ट्रेकिङ ट्राभल र्‍याफ्टिङ एयरलाइन्स वर्कर युनियन (युनिट्राप) कास्कीका अध्यक्ष विजय केसीका अनुसार एसएलसी उत्तीर्ण र दुई वर्ष ट्रेकिङ्ग क्षेत्रमा काम गरेका अनुभवीलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट प्रारम्भिक चरणमा एक महिने पथप्रदर्शक तालीम प्रदान गर्ने गर्दछ । यसरी तालीम प्राप्त गरेकालाई पर्यटन कार्यालयले अनुमतिपत्र दिने गरेको छ ।

विगत २१ वर्षदेखि पथप्रदर्शकको काम गर्दै आएका पदयात्री व्यवसायी चन्द्रबहादुर भुजेल दुुई वर्ष अगाडिको घटना स्मरण गर्दै भन्छन् – “अन्नपूर्णको दानाक्युमा एक ब्रिटिश महिला एक्लै पदयात्रामा भेटिइन् । उनी गुगल म्यापको सहारामा पदयात्रा गर्दै थिइन् । पन्ध्र मिनेट अगाडि हिँडेकी उनी बाटोमा पहिरो गएको रहेछ । अर्को बाटोको विकल्प नदेखेपछि त्यही पहिरोबाट जाँदा लडेर झण्डै २०० मिटर तल पुगेकी रहिछिन् । घाइते अवस्थामा रहेकी उनले बजाएको सिठ्ठीको आधारमा उद्धार भयो ।”

अधिकाँश पर्यटक केही रकम बढि खर्च गर्न हिच्किचाउने गर्छन् र टेकरले पालना गर्नुपर्ने सामान्य नियम पनि पालन नगरी देशका कुना कुना पुग्छन् । यस्ता गतिविधिलाई रोक्न राज्यले निश्चित ठाउँ बाहेक अन्यत्र पदयात्रा गर्दा अनिवार्य पथप्रदर्शक लाने नियम बनाउन आवश्यक रहेको उनी बताउछन् ।

ट्रेकिङ्गको सिलसिलामा पथप्रदर्शक र भरिया दुर्घटनामा पर्नसक्ने पक्षलाई ध्यान दिएर टान पश्चिमाञ्चलले बीमाको व्यवस्था गरेको बताउनुहुन्छ टानका महासचिव जीवनराज सापकोटा । उनका अनुसार वर्षमा २५ जना ट्रेकिङ्ग गाइड र ५० जना भरियाको १० लाखसम्मको दुर्घटना बीमाको व्यवस्था भइआएको छ । पर्यटक स्वयंले आफ्नो सुरक्षाका लागि पथप्रदर्शक लानु उपयुक्त हुने उनको भनाइ छ ।