खेलकुद

खेलकूद विकास समिति पदाधिकारीविहीन

जुम्ला । जिल्ला खेलकूद विकास समिति एक महीनादेखि पदाधिकारीविहीन भएको छ । गत १३ साउनदेखि तत्कालीन हरिप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको समिति समयावधि पुगेर खारेज भएपछि जिल्ला खेलकूद विकास समिति पदाधिकारीविहीन भएको हो ।

समिति पदाधिकारीविहीन भएपछि कार्यालयको खाता सञ्चालनमा आउन सकेको छैन । नयाँ कार्यसमिति कहिले आउने हो यस विषयमा कुनै टुङ्गो लाग्न नसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले बताए । उनले भने, “नयाँ कार्यसमिति नआएकाले कार्यालय सञ्चालनदेखि खेलाडीको छात्रवृत्ति वितरण कार्यक्रमसमेत प्रभावित भएको छ । कर्मचारीले तलबसमेत खान नपाएको कार्यालयले जनाएको छ ।

नयाँ कार्यसमिति नआउँदा पातारासी गाउँपालिकाको छुमचौरमा बन्दै गएको ‘हाई अल्टिच्युट टे«डिङ सेन्टर’ को काम पनि प्रभावित भएको कार्यालय प्रमुख महतले बताए ।

जिल्ला खेलकूद विकास समिति जुम्लाको नयाँ कार्यसमितिको अध्यक्षका लागि आठ व्यक्तिको नाम चर्चामा छन् । समितिमा पहिलो पटक महिला अध्यक्ष बनाउनुपर्ने भन्दै चन्दननाथ नगरपालिका–१ आर्चायबाडाकी सङ्गीता आचार्य खेल क्षेत्रको विकास गर्न युवा नै आवश्यक रहेको सन्दर्भमा वडा ३ बुढ्थबाडाका लक्ष्मी खत्रीको नाम चर्चामा छ । अर्का युवा बक्सिङ खेलाडी बालकृष्ण बुढा, वडा ८ रोकायाबाडाका कालीबहादुर रोकाया तथा पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठ, भीम थापा र विष्णुबहादुर महतको नाम चर्चामा रहेको छ ।

नेकपा जिल्ला सचिव तीर्थ बुढाका अनुसार पदाधिकारीविहीन जिल्ला खेलकूद विकास समितिको अध्यक्षसहित अन्य सदस्यका लागि पार्टीको कुनै आधिकारिक निर्णय भएको छैन । उनले भने, “यस विषयमा जिल्ला कार्यसमितिमा छलफलका लागि कुरा चलिरहेको छ ।”