आर्थिक

करको दायरा बढाएपछि गोदावरी नगरपालिकाको आम्दानी बढ्यो

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । नगरपालिकाले करको दायरा बढाएपछि आन्तरिक आयमा बढेको हो ।

नगरपालिकाले गत आव २०७५ः७६ मा रु २१ करोड ८६ लाख ४६ हजार ४०१ राजश्व सङ्कलन गरेको आन्तरिक लेखा परीक्षण अधिकृत राजेशप्रसाद जोशीले जानकारी दिए । उनले अघिल्लो आव २०७४ः७५ मा रु दुई करोड ५६ लाख दुई हजार २०६ राजश्व सङ्कलन भएको बताए । अघिल्लो आवकोे तुलनामा गत आवमा रु १९ करोड ३० लाख ४४ हजार १९५ भन्दा बढीले राजश्व सङ्कलन भएको जोशीले बताए ।

गत आवमा सम्पत्ति कर तथा भूमिकर बापत रु एक करोड ६ लाख ५० हजार २०५, घरजग्गा बहाल करबापत रु २० लाख ९२ हजार, व्यवसाय करबापत ३२ लाख ५६ हजार ३७७ र विज्ञापन करबापत आठ लाख २५ हजार पाँच सङ्कलन भएको छ ।

त्यस्तै पार्किङ शुल्कबापत आठ लाख आठ हजार ८०८ , कबाडी करबापत १० लाख ६५ हजार, प्राकृतिक स्रोत उपयोग करबापत ११ करोड ९० लाख र घरजग्गा रजिष्ट्रेशन शुल्कबापत पाँच करोड रुपैयाँ राजश्व सङ्कलन भएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।