समाचार

छुट्टा–छुट्टै दुर्घटनामा तीनको मृत्यु

हेटौढा । मकवानपुरमा फरक–फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट घाइते पैदलयात्री हेटौँडा–११ का ५० वर्षीय नारायण लम्सालको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हेटौँडा–११ मा अटोको ठक्करले गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो ।

हिजो साँझ नै मकवानपुरगढी–२ मा चट्याङका कारण एक जनाको मृत्यु भएको छ । घरनजिक बसिरहेको अवस्थामा साँझ ३० वर्षीय सुन्तली विकलाई चट्याङ लागेको र उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ ।

हेटौँडाका सवारी दुर्घटनामा संलग्न प्रदेश२–०३००१प ९३९० नंको मोटरसाइकलका चालक रोशन दुलाल तथा ना२ह १८९० नंको अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।