खेलकुद

साफ यू–१५ पुरुष फुटबलमा भुटानलाई हराउँदै फाईनलमा पुग्ने नेपालको चाहना

काठमाडौं । भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बिहिबार आज भुटानसंग प्रतिस्पर्धा गर्दैछ ।

भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह सवाँ १२ बजे सुरु हुनेछ । भुटानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । उपाधि जित्ने लक्ष्यसहित भारत गएको नेपाली टोलीलाई फाइनल पुग्न लिग चरणको अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।

तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । नेपाल अन्तिम खेलमा भुटानलाई हराउने योजनासहित मैदान उत्रनेछ । भुटानका लागि भने यस खेल अर्थहिन छ । तर नेपाललाई स्तब्ध बनाउदै भुटान सान्त्वना जित निकाल्न चाहन्छ ।

प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । नेपालले मंगलबार साविकको विजेता बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

त्यसअघि नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो । नेपाल पहिलो खेलमा भने भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । अपराजित भारत ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ६ अंक जोडेर तेस्रो स्थानमा छ । अन्तिम खेलमा बंगलादेशले बलियो भारतको सामना गर्नेछ ।

जसको कारण पनि भुटानलाई हराए नेपालको फाइनल यात्रा सहज हुनेछ । हेड टु हेडमा नेपालसँग बंगलादेश पछि परेको छ । बंगालदेशलाई फाइनल पुग्न भारतविरुद्ध कम्तिमा ४–० गोल अन्तरको जित निकाल्नु पर्ने हुन्छ । भारतलाई फाइनल पुग्न बराबरीले पुग्ने छन् । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन् ।