कर्णाली प्रदेश

आन्तरिक स्रोत नभएकाले सडक खोल्न स्थानीय सरकारलाई सकस

जाजरकोट । वर्षौंपिच्छे निर्माण गरिएका यहाँका आन्तरिक सडक वर्षायाममा भत्किएका कारण स्थानीय सरकारलाई सडक खुलाउन सकस भएको छ । आन्तरिक स्रोत नभएका जिल्लाका स्थानीय सरकारलाई सडक खुलाउन समस्या भएको हो ।

दाता संस्थाद्वारा प्राविधिक जाँच तथा लागत अनुमानबिना निर्माण गरिएका सडक भत्किएका कारण शुरुमा निर्माण गर्दा लागेको रकम बराबर अहिले भत्किएका सडक मर्मत गर्न खर्च गर्नुपर्ने भएको छ ।

नलगाड नगरपालिकाभित्रका एक दर्जन आन्तरिक सडक, कुशे गाउँपालिकाका आधा दर्जन र बारेकोट गाउँपालिकाका आधा दर्जन सडकका साथै शिवालय, छेडागाड र भेरी नगरपालिकाका आन्तरिक सडक मर्मतमा बजेटको समस्या देखिएको स्थानीय सरकारले बताएका हुन् । पर्व नजिकिँदै गर्दा यहाँका आन्तरिक सडक खुलाउनै पर्ने बाध्यताले चुनौती थपिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए ।

सबैभन्दा बढी सडक निर्माण भएको उक्त नगरपालिकाका अधिकांश सडक भत्किएका छन् । करोडौँ रकम आन्तरिक सडक मर्मततर्फ खर्च गर्नुपर्ने बाध्यता आइलागेको उनले बताए । त्यस्तै असमित विकासका योजना तर सीमित स्रोत र साधन भएकाले पनि भत्किएका सडक निर्माणमा वर्षेनी चुनौती थपिँदै आएको छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतराले बताए । कलकारखाना तथा उद्योगधन्दा कम भएको जाजरकोटमा आन्तरिक कर सबैभन्दा कम उठ्ने गर्दछ ।

कडा तथा भिरालो भूबनोट भएकाले वर्षेनी सडक निर्माणमा मात्र करोडौँ बजेट खर्च भए पनि नतिजामुखी हुन नसकेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए । पुराना भत्किएका सडक मर्मत गर्दा बजेट सकिने भएकाले नयाँ सडक निर्माण गर्न वर्षेनी बजेट अपुग हुने गरेको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले निर्माण गर्ने सडक तथा विकास कार्यक्रमको क्षेत्र विभाजन भए पनि त्यो जाजरकोटमा लागु हुन सकेको छैन ।

विस्तृत योजना प्रतिवेदन (डिपिआर) निर्माण नगर्दा वर्षेनी छुट्याएको बजेट प्रयोग नहुने समस्या बढेको छ । यो वर्ष मात्र जाजरकोटबाट ठूलो मात्रमा बजेट फिर्ता भएको थियो । प्रदेशबाट छुट्याएको बजेटसमेत डिपिआरको समस्याले कार्यान्वयनमा समस्या आएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले बताए ।

योजना माग हुने गर्दछ तर योजना निर्माणका लागि आवश्यक प्रक्रिया पूरा नहुँदा कामको नतिजा नदेखिएको उहाँको भनाइ थियो । डिपिआरबिना नै सडक निर्माण गरिएकाले बाढीपहिरोले जङ्गल तथा खेतीयोग्य जमीनका साथै स्थानीयवासीका घर जोखिममा परेका छन् । खेतीयोग्य जमीन र बाली लगाएको भारी जमीन पुरिँदा खाद्यान्न उत्पादनमा समेत समस्या भएको छ ।

पहिरोकै कारण जिल्लाका १०० भन्दा बढी परिवार घर छोडेर सुरक्षित स्थानमा बस्न बाध्य छन् । एकातिर आर्थिक रुपमा व्यापक क्षति, अर्कोतिर खेतीयोग्य जमीन, जङ्गल पुर्नाका साथै बजेट लगानी गरिएको रकम खेर गइरहेको छ । डोजरद्वारा निर्माण गरिएको सडकको छेउछाउमा घर निर्माण गर्न जमीनमा खेती गर्न नमिल्ने अवस्था छ ।