पर्यटन/संस्कृति

भ्रमण वर्ष २०२० सफल बनाउन प्रसिद्ध बच्छेश्वर मन्दिर पुग्ने पदमार्गको निर्माण

पर्वत । पर्वतमा पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष र सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेकाले त्यसलाई सफल बनाउनका लागि पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्रगतिमा भइरहेको हो ।

गत आर्थिक वर्षदेखि पर्वतमा झण्डै एक दर्जनभन्दा बढी पदमार्ग र ४८ स्थानमा होमस्टे सेवा निर्माण भएका छन् । जिल्लाको विकट गाउँ बिहादी गाउँपालिका–१ बाच्छामा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बच्छेश्वर जाने पदमार्ग निर्माण सम्पन्न भएको छ । झण्डै रु ३० लाखको लागतमा बाच्छा देउरालीदेखि बच्छेश्वर मन्दिरसम्मको पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको हो ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा एक किलोमिटर लामो पदमार्ग निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । जसमा एक हजार ३३९ वटा सिँढी रहेका छन् । पदमार्ग निर्माण भएपछि कालीगण्डकी करिडोर हुँदै आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मन्दिरसम्म पुग्न सहज भएको छ । त्यसैगरी बच्छेश्वर हुँदै पर्यटकीयस्थल गोल्र्याङधाममा जानका लागि पनि सहज भएको पदमार्ग निर्माण समितिका अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारका पर्यटनमन्त्री विकास लम्सालको पहलमा बजेट विनियोजन भएपछि पदमार्गसँगै गाउँमा होमस्टेसमेत विस्तार भएको छ ।

पदमार्ग बनेपछि गाउँमा दुईवटा होमस्टेसमेत सञ्चालनमा आएका छन् । बच्छेश्वर सामुदायिक होमस्टे र सालडाँडा सामुदायिक होमस्टे सञ्चालनमा आएका हुन् । दुईवटै होमस्टेका लागि प्रदेश सरकारले रु १० लाखका दरले विनियोजन गरेको थियो । उक्त रकमबाट दुईवटा समाजघर निर्माण भएका छन् । गाउँमा आउने पर्यटकलाई समाजघरमा स्वागत गर्ने र खाना खुवाएपछि गाउँमा सञ्चालित होमस्टेमा बास बसाउने गरी व्यवस्था मिलाइएको पदमार्ग निर्माण समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।

उनका अनुसार गुरुङ संस्कृति, स्थानीय अर्गानिक खाना, लोकल कुखुरा, लोकल मदिरा, सिन्कीको अचार, भट्ट, मकै, कोदोको ढिडोलगायत गाउँमा उत्पादित तरकारीका परिकार पर्यटकलाई दिन थालिएको छ । त्यतिमात्र हैन साँझमा गुरुङ संस्कृतिसमेत देखाउने गरिएको छ । सालैजो, यानीमाया, सुनिमाया, सोरठी तथा महिला पुरुषबीच र आउने बाह्य पर्यटकसँग स्थानीय महिलाको दोहोरी गीतसमेत गाएर पर्यटकलाई मनोरञ्जन दिने व्यवस्थासमेत गाउँमा गरिएको छ ।

पछिल्लो समय बढ्दो युवा पलायनका कारण रित्तिँदै गएको गाउँमा होमस्टे र पदमार्ग निर्माणले चहलपहल बढाएको स्थानीयवासी नन्दु गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोजगारी खोज्दै पलायन हुनु यहाँको बाध्यता थियो, अहिले केही मात्रामा रोकिएको छ ।” यहाँका अधिकांश गुरुङ समुदायका परिवार बेलायत, हङकङमा बसोबास गर्दै आएका छन् भने युवाको ब्रिटिस आर्मी र भारतीय सेनामा बढ्दो आकर्षण रहेको उनले बताए ।

हराउँदै जान थालेको गुरुङ संस्कृतिको जगेर्ना गर्नका लागि तमु सङ्ग्रहालय निर्माणको काम पनि धमाधम भइरहेको छ । पुरातत्व विभागको सहयोगमा गुरुङ सङ्ग्रहालय निर्माणको कामले तीव्रता पाएको हो । चित्रबहादुर गुरुङ र स्थानीय युवा सविन गुरुङ लगायतको पहलमा सङ्ग्रहालयको निर्माणकार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।

सदरमुकाम कुश्माबजारबाट झण्डै ३० किलोमिटरको दूरीमा रहेको उक्त गाउँमा भ्रमण वर्षमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधाजनक रुपमा राख्न सकिने होमस्टे सञ्चालक सविन गुरुङले बताए । सडकसमेत स्तरोन्नति भइरहेकाले मध्यपहाडी लोकमार्गबाट डेढ घण्टाको यात्रामा उक्त गाउँमा पुग्न सकिने जनाइएको छ । होमस्टेमा दैनिक १०० भन्दा बढी पर्यटकलाई राख्न सकिने गरी व्यवस्थापन गरिएको बताइएको छ ।

पर्वतमा गत वर्ष पैंयुँ गाउँपालिका–७, बिहादी गाउँपालिकाको वडा नं १ र ४, कुश्मा नगरपालिकाको वडा नं २, ३, ८, १३ र १४ तथा मोदी गाउँपालिकाको वडा नं १, २ र ३ तथा जलजला गाउँपालिकाको वडा नंं २ गरी दश स्थानमा पदमार्ग बनाइएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जनाएको छ ।
बाच्छामा भाइरलको प्रकोप फैलियो
विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय बन्द गरिएको छ । पर्वतको विहादी गाउँपालिका–१ बाच्छास्थित जनकल्याण मावि केही दिनका लागि बन्द गरिएको हो । मौसमका कारण १०० भन्दा बढी विद्यार्थी र शिक्षकलाई ज्वरो आउने, रुघा लाग्ने र टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिएपछि थप संक्रमण नफैलियोस् भनेर विद्यालय बन्द गरिएको निमित्त प्रधानाध्यापक चित्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

अहिले तत्काललाई हिजोदेखि दुई दिनका लागि विद्यालय बन्द गरिएको र सङ्क्रमण नरोकिएमा पुनः थप गरिने प्रअ श्रेष्ठले बताए । स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक तथा अभिभावकको भेला बसी गाउँमा थप सङ्क्रमण नफैलियोस् भनेर स्कूल बन्द गर्ने निर्णय गरिएको शिक्षक झलक चापागाँईले जानकारी दिए ।

बिरामी परेका शिक्षक तथा विद्यार्थीहरुमध्ये केहीको स्थानीय स्वास्थ्य चौकी, केहीको कुश्मा र पोखरामा उपचार भैरहेको चापागाईले जानकारी दिनुभयो । केहि दिनदेखि विद्यार्थीको संख्या क्रमश घट्दै गएपछि विद्यालय बन्द गर्नुपरेको हो । दुषित पानी र खराब मौसमका कारण संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।