राजनीति

‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टैः नेता रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन् ।

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले गाउँ÷नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताएका हुन् । केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उनले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने जानकारी गराए ।

गाउँ÷नगर कमिटी एकीकरणपश्चात पार्टी सुदृढ हुने उनको भनाई थियो । गाउँपालिका र नगरपालिकामा पार्टी एकीकरण गरी स्थानीय तहमा भइरहेका विकास निर्माणका काम प्रभावकारी हुने नेता रावलले बताए । फरक प्रसङ्गमा कुरा गर्दै उनले टिकापुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको भएको टिप्पणी गरेको थिए ।