लुम्बिनी

त्रिपालमुनि आफ्नो भविस्य खोज्दै आठबिसकोट नगरपालिकाका बालबालीका

मुसीकोट । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन् ।

हाल विद्यालय रहेको स्थानभन्दा झण्डै चार किलोमिटर उत्तरमा पर्ने लेकालीखर्क दहको खुलाचौरमा विद्यालयको पठनपाठन शुरु गरिएको शिक्षक खड्क थापाले बताएका छन् । उनका अनुसार गाउँमा आएको पहिराका कारण विद्यालयको पठनपाठन नै ठप्प बनेपछि स्थानीयवासी अभिभावकको सल्लाहमा त्रिपालमुनि अध्यापन गराउन थालिएको बताइएको छ ।

गत साउनदेखि विद्यालयको पठनपाठन कार्य रोकिएपछि नगरपालिकाले प्रदान गरेको पाँच त्रिपालको सहयोगमा खुलाचौरमै पढाउनुपर्ने बाध्यता आएको प्रधानाध्यापक भीमबहादुर थापाको भनाइ छ । पहिराले विद्यालयको भवनमा क्षति पुर्याएको र गाउँको बस्तीसमेत जोखिममा परेपछि केही समयका लागि खुलाचौरमा पढाइ सञ्चालन गर्नुपरेको उनले बताए ।

खुलाचौर र त्रिपालमुनि पठनपाठन शुरु गरिएसँगै विद्यार्थीको शतप्रतिशत उपस्थिति रहेको बताइएको छ । तर, हाल उक्त स्थानमा शौचालय र खोनपानीको अभावले विद्यार्थीको पठनपाठनमा समस्या पर्ने देखिएको छ । पहिराले हम्पागाउँका १०० बढी घर जोखिममा परेका छन् । त्यस्तै नौ घर पूर्णरुपमा क्षति भएका वडाध्यक्ष विनोद पुनको भनाइ छ । गत साउन १७ गते आएको पहिरोले स्थानीयवासी ४५ वर्षीया बिर्मी नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।