राजनीति

कांग्रेसको केन्द्रिय समितीको वैठक आजः यस्तो छ वैठकको एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समितीको आज बैठक बस्ने भएको छ ।  दिउँसो २ वजेपछि वस्ने बैठकमा पार्टीको भातृसंस्थाबारे छलफल हुने पार्टी प्रेवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले गत असार २२ गते बसेको बैठकमा पेश गरेको एजेण्डा अनुसार आज भ्रातृसंस्थाबारे छलफल हुन लागेको बताईएको छ ।

कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको भने समय सकिएपछि ती सबै निष्कृय भएका छन् । सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारी कांग्रेसको छ । कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ ।

नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायत आकांक्षी छन् ।

सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा आफैंले लिएका छन् । सभापति देउवा केन्द्रीय समितिको बैठकलगत्तै नेविसंघको नेतृत्व तोक्ने तयारीमा रहेको उनी निकट एक नेताले बताएका छन् । कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी छ ।

१४ औं महाधिवेशन र अन्तरिम संरचना गठनसहितका मुख्य एजेण्डामा छलफल सकेको कांग्रेसले आजको बैठकबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल थाल्ने तयारी गरेको छ ।