लुम्बिनी

जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण

सल्यान । जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण कार्य शुरु गरिएको छ । गाउँमा पानीका मुहान सुक्दै जान थालेपछि सिद्धकुमाख गाउँपालिका–३ का स्थानीयवासीले पुराना पोखरीको संरक्षणका लागि अभियान थालेका हुन् ।
जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै जान थालेकाले मुहान संरक्षण गर्नका लागि अभियान चलाएको स्थानीयवासीले बताएका छन् । अहिले स्थानीयवासीले गाउँ तथा सामुदायिक वनका अग्ला स्थानमा पानी संरक्षणका लागि पोखरी निर्माण अभियान तीव्र पारिएको डाँडाकटेरीका छविलाल बोहराले जानकारी दिएका छन् ।

स्थानीयवासीले अहिले हलोगारे सामुदायिक वनमा तीन पोखरी निर्माण गरिसकेका र यसलाई निरन्तरता दिइने उहाँको भनाइ छ । अग्ला स्थानमा पोखरी निर्माण गर्दा वर्षात्मा पोखरी भरिने र यसले हिउँदमा समेत पानीको अभाव नहुने भएकाले स्थानीयवासीले सो अभियान चलाएका छन् ।

गाउँमा रहेका ७५ घरधुरीबाट जनश्रमदान गरेर पानीका मुहानको संरक्षण गर्ने कार्य पनि सँगै अगाडि बढाइएको स्थानीय खिमबहादुर बोहराले बताए । “हलोगारे सामुदायिक वनको रु एक लाख ४० हजार र स्थानीयवासीको श्रमदानबाट पोखरी निर्माण गरिएको छ, यसले जमीनमा पानी रिचार्ज गर्ने कार्य गर्नेछ”, उनको भनाई छ ।

जलवायु परिवर्तनका असर छिटो–छिटो देखिन थालेका र त्यसले पानीका प्राकृतिक स्रोत पनि सुक्दै गइरहेका बेला यसलाई कम गर्न पानी संरक्षणलाई स्थानीयवासीले प्राथमिकता दिएका हुन् । गाउँमा भएका पुराना पोखरी पुरिदै गएकाले त्यस्ता पुराना पोखरीहरुको पनि स्तरोन्नति गरिएको वडा नं ३ का वडाध्यक्ष शालिकराम बुढाथोकीले जानकारी दिएका छन् ।

“वर्षात्को समयमा पानी सङ्कलन हुने गरी हलोगारे, जलुके, दुइटी पोखरीमा पोखरी निर्माण गरिएको छ, यसका साथै पुराना चार पोखरीको समेत स्तरोन्नति गरिएको छ”, उनले भने । पानीका स्रोत कम भएपछि स्थानीयवासीले पशुपालन गर्नेको सङ्ख्यामा कमी आउन थालेको वडाध्यक्ष बुढाथोकीले बताए ।

“अहिले स्थानीय समुदायले अभियान चलाएर पोखरी निर्माणकार्य गरिरहेका छन्, यसमा गाउँपालिकाले आगामी दिनमा पनि साथ र सहयोग दिनेछ”, वडाध्यक्ष बुढाथोकीले भने, “यसका साथै पानीका मुहानल संरक्षण गरी बिरुवा लगाइएको छ ।” चालू आवमा पोखरी संरक्षणका लागि गाउँपालिकाले समेत बजेट विनियोजन गरेको उनको भनाइ छ ।