अन्तर्राष्ट्रिय

टर्कीले इस्तानबुलमा समातिएका सोह्र हजार आप्रबासीलाई सुपुर्दगी गर्दै

एजेन्सी । टर्कीले जुलाई १२ पछि गैरकानूनीरूपमा स्तानबुल हुँदै यूरोप तथा अमेरिका जान लागेका १६ हजार ४२३ आप्रबासीलाई सम्बन्धित देशमा नै फिर्ता गर्ने भएको टर्कीका अधिकारीहरूले बताएका छन् । इस्तानबुल गभर्नर कार्यालयले दिएको जानकारी अनुसार सुरक्षाकर्मीले पक्राउ गरेका आप्रबासीमध्ये चार हजार ५०० सिरियाली नागरिक रहेका बताइएको छ ।

उनीहरूसँग कुनै किसिमको औपचारिक कागजात नरहेकोले सबैलाई विभिन्न प्रान्तका अस्थायी शरणार्थी शिविरमा पठाइएको छ । सरकारले समातिएका आप्रवासीलाई स्वदेश फर्किनका लागि आगामी अक्टोबर ३० सम्मको समय दिएको बताइएको एक सिरियाली गैरसरकारी संस्थाले जनाएको छ ।

टर्कीले यस पहिले ९अगस्ट २०० सम्ममा सिरियाली शरणार्थीलाई स्वदेश फिर्ता हुन आग्रह गरेका थिए । टर्कीका अधिकारीहरूले दिएको जानकारी अनुसार इस्तानबुलमा १० लाख छ हजार शरणार्थी रहेका तथ्याङ्क छ ।

जसमध्ये पाँच लाख ७० हजार शिरियाली शरणार्थी भएको बताउने गरिएको छ । टर्कीको अन्य शहरहरू अङ्कारा र बुर्सामा पनि शरणार्थीको भीड बढेको भन्दै सरकारले इस्तानबुलमा जस्तै कारबाही गर्ने तयारी गरेको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले बताए ।

गरिबी र द्वन्द्वको पीडाले अरब मुलुकहरू लिबिया, सिरिया, यमन तथा केही एशियाली मुलुकका नागरिकहरूले यूरोप र अमेरिका प्रवेशका लागी खतरनाक सामुद्रिक बाटो तय गर्ने गरेका छन् ।