प्रवास

एनआरएन पोर्चुगल अध्यक्षमा काँग्रेसका गैरे भारी मतले विजयी

पोर्चुगल । गैर आवासीय नेपाली सङ्घ पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न सङ्घको सातौँ राष्ट्रिय अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि तिलकप्रसाद गैरेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

आइतबार सम्पन्न भएको निर्वाचनबाट नेकपा निकट प्रगतिशील समावेशी समूहका ईश्वर रिजाललाई पराजित गर्दै काङ्ग्रेस निकट लोकतान्त्रिक समावेशी समूहका गैरे अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सर्वसम्मत नेतृत्वका लागि सहमति जुट्न नसकेपछि काङ्ग्रेस सर्मथक र नेकपा, सङ्घीय समाजवादी र आदिवासी जनजाति महासङ्घसहितको संयुक्त गठबन्धनका बीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

मतपरिणामअनुसार दुई आईसीसी सदस्यमा काङ्ग्रेस निकट लोकतान्त्रिक समावेशी समूहका नारायणकाजी मगर र रविन अधिकारी निर्वाचित भएका छन् । प्रगतिशील समावेशी समूहका धनराज शेर्पा र गोविन्द सापकोटालाई पराजित गर्दै मगर र अधिकारी आईसीसी सदस्यमा निर्वाचित भएका हुन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिकका भीमसेन थापा निर्वाचित थिए । प्रगतिशीलका आनन्द गुरुङलाई पराजित गर्दै थापा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै लोकतान्त्रिक समावेशी समूहका अशोक गुरुङ र मच्छिन्द्र अर्याल प्रगतिशीलका पेम्छिरी शेर्पा र स्वतन्त्र उम्मेदवार पत्रकार गणेश पाण्डेयलाई पराजित गर्दै दुई उपाध्यक्ष पदमा निर्वाचित भए ।

सङ्घको महासचिवमा प्रगतिशील समावेशी समूहका हेमराज सुवेदीले लोकतान्त्रिक समावेशीका प्रकाश कडरियालाई पराजित भए । कोषाध्यक्षमा लोकतान्त्रिकका विक्रमजङ्ग कुँवर प्रगतिशीलका हरि थापालाई पराजित गरी निर्वाचित भए । प्रगतिशीलका मिलन रेग्मीलाई पराजित गर्दै सङ्घको युवा संयोजकमा लोकतान्त्रिकका दिनेश भण्डारी निर्वाचित भए ।

सर्वसम्मत नेतृत्वका लागि सहमति जुट्न नसकेपछि नौ पदका लागि चुनावी प्रतिस्पर्धा भएको निर्वाचन समितिका संयोजक अशोक घिमिरेले राससलाई जानकारी दिए । आइतबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम सोमबार राति घोषणा गरेर विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र प्रदान गरिएको संयोजक घिमिरेले बताए । कूल दुई हजार १२८ सदस्य रहेको सङ्घमा एक हजार ४७२ मत खसेको थियो ।

घिमिरेका अनुसार एक महिला उपाध्यक्ष, दुई सचिव, एक महिला संयोजक, एक सह–कोषाध्यक्ष र १५ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । महिला उपाध्यक्षमा सीता श्रेष्ठ, दुई सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकाल चयन भएका छन् । सह–कोषाध्यक्षमा तिलक कँडेल र महिला संयोजकमा सुशीला थापा चयन भएका छन् ।

यस्तै निर्विरोध निर्वाचित सदस्यहरुमा सुमन शर्मा चम्लागाईं, राजनप्रसाद ढुङ्गाना, दीपक खत्री, लक्ष्मी परियार, कल्पना कार्की, सम्झना अधिकारी पाण्डे, नवीन सापकोटा, आनन्दकुमार तामाङ, रमेश पौडेल, सुरेन्द्र गौतम, दीपेन्द्र सुवेदी, सविन धिताल, दिलबहादुर परियार, सन्तोष नेपाली र गणेशदत्त शर्मा रहेका छन् ।