गण्डकी प्रदेश

सामाजिक संस्थाद्वारा बेसहारालाई घर

बागलुङ । गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजालीसँग बासको नाममा खरको झुपडी थियो । के खाने के लाउने चिन्ताले उसैगरी सताउँथ्यो । न सम्पत्ति न कमाइ । सामाजिक सुरक्षा भत्ताको भरमा गर्जो टथ्र्यो । रामजाली र उनकी श्रीमती ८० वर्षीया सरस्वतीको जीवन यसरी नै गुज्रदै थियो ।

वृद्ध अवस्थामा पुगेको रामजाली दम्पतीको कष्टपूर्ण दैनिकी देखेर सहयोगी हात अघि बढ्न थाले । खानेकुरा र बिछ्यौना नै नभएको देखेपछि गत फागुनमा स्थानीय सामाजिक संस्थाले सहायता दिएका थिए ।

वडा नं ७ मल्मको घुम्टे युवा परिवारले रु दश हजार बराबरको खाद्यान्न र कपडा प्रदान गर्‍यो । स्थानीय नवज्योति युवा क्लबले पनि सहयोग गर्‍यो । बुढेसकालमा बेसहारा बनेका दम्पतीलाई व्यक्तिगत सहयोग पनि आउन थाल्यो ।

रामजाली दम्पत्तिको दयनीय अवस्थाबारे थाहा पाएपछि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पनि सहयोगको भावना जाग्यो । उनले घर निर्माणका लागि व्यक्तिगत रुपमा रु दुई लाख दिने निर्णय लिए । सोही सहयोगबाट बनेको दुई कोठे घर र शौचालय सोमबार रामजाली दम्पतीलाई हस्तान्तरण गरियो ।

घर हस्तान्तरणपछि नगरप्रमुख पौडेलले रामजाली दम्पतीको पालनपोषणमा पनि सघाउने प्रतिबद्धता व्यक्त गरे । “वृद्ध अवस्थामा बेसहारा बनेको र बस्नलाई घरसमेत नभएको कुरा सुनेपछि सहयोग गर्ने सोच आयो”, उनले भने, “बेसहारा दम्पतीका लागि सहयोग गर्न पाउँदा खुशी लागेको छ ।”

“मेरो मान्यता सबै नेपाली सुखी भएर बाँच्नुपर्छ भन्ने हो, सोहीअनुसार मैले सक्दो सहयोग गर्दै पनि आएको छु”, उनले भने ।

रामजाली दम्पतीको घर निर्माणको जिम्मा नवज्योति युवा क्लबले लिएको थियो । ‘पिलर’ राखेर भूकम्प प्रतिरोधी हिसाबले घर निर्माण गरिएको क्लबका अध्यक्ष सुरेन्द्र केसीले बताए । गत वर्ष क्लबकै कार्यक्रममा प्रमुख अतिथि बनेर आएका नगरप्रमुख नेपालीले रामजाली दम्पतीलाई घर बनाइदिने घोषणा गरेका थिए ।

सोमबार नयाँ घर पाएपछि रामजाली दम्पती खुशी देखिएका थिए । घर हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा र सर्वसाधारणसमेतले नगरप्रमुख नेपालीले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

सम्पत्ति र जग्गा केही नभएपछि रामजाली दम्पतीले सामाजिक सुरक्षा भत्ताको भरमा जीविका चलाउँदै आएका छ । भएकी एउटी छोरी पनि बिहे गरेर गएपछि उनीहरु बुढ्यौलीमा बेसहाराझैँ बनेका छन् ।