अन्तर्राष्ट्रिय

सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु

न्यूयोर्क । गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पो समेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुनेक्रम नरोएिको बताए ।
राष्ट्रसंघीय मानवीय सहायता संयोजन कार्यालयका अनुसार चार जना बालबालिका समेत १५ जनाको मृत्यु भएको जनाएको छ ।

डुराजिकले इड्लिबमा मात्र विस्थापित व्यक्तिहरुले १०० भन्दा बढी स्कुलहरुमा शरण लिइरहेको बताए । विस्थापित मानिसका निम्ति बनाइएका अस्थायी शिविरमा पहिल्यैदेखि मानिसको भिडभाड छ, र हजारौं मानिस बस्ने ठाउँ नपाएर खुला आकाशमा बस्न बाध्य छन् – डुराजिकले बताए ।

प्रवक्ता डुराजिकले चार महिना अघिदेखि भड्किएको पछिल्लो हिंसाका कारण झण्डै पाँच लाख ७५ हजार मानिस विस्थापित भएको जानकारी दिए । धेरै मानिस पाँच पटकसम्म घरबाट विस्थापित हुनु परेको छ । धेरै बालबालिका शिक्षाको अवसरबाट बन्चित भएका छन् । डुराजिकले द्वन्द्वरत सबै पक्षलाई परिस्थिति सामान्य बनाउन आग्रह गरे ।

पछिल्लो समय सिरियाली फौजले रुसी सहयोगमा इड्लिब र हामा समेतका क्षेत्रमा आक्रमण तिब्र बनाएको छ । सिरियाको छिमेकी टर्की र इजरायलले पनि सिरियाका विभिन्न ठेगानमा बमबारी गरेका छन् ।