अन्तर्राष्ट्रिय

खाद्य सुरक्षामा सुधार ल्याउन अफ्रिकामा नयाँ परियोजना शुरु

नैरोबी । अफ्रिकाको एउटा अनुसन्धान केन्द्रले केन्या, युगान्डा र म्याडागास्करका करिब तीन लाख घरपरिवारलाई लक्षित गरी नयाँ धान विकास परियोजना आरम्भ गरेको छ ।

अफ्रिका धान केन्द्र (अफ्रिका राइस सेन्टर) ले स्थानीय जनताको आयवृद्धि र खाद्य सुरक्षा दुवै अभिवृद्धि गर्न धानसम्बन्धी नयाँ र उपयुक्त प्रविधि विकास गरिने जनाएको छ ।

तीन वर्षसम्म सञ्चालन हुने यस परियोजनाबाट धानको उत्पादकत्व वृद्धि गर्न र प्रतिस्पर्धात्मक क्षमता बढाउन किसानलाई सहयोग गरिनेछ ।

अफ्रिकी राइस सेन्टरका संयोजक पल किपेले भने, “यो परियोजनाले खासगरी महिला र युवालाई केन्द्रमा राखेर धान उत्पादनमा मद्दत गर्नेछ ।”

केन्या अहिले मध्य आय भएको मुलुकको दर्जामा आइसकेको बताउँदै उनले केन्याले धान उत्पादन वृद्धि गर्न र खाद्यान्नको बढ्दो आयातलाई कम गर्न ठोस कार्य गर्नुपर्ने समय आएको जनाए । किपेले अगाडि भने, “यो परियोजनाले एकअर्का मुलुकका राम्रा सिकाईका बारेमा किसान समक्ष लैजानेछ, र धान उत्पादनमा दिगोपना ल्याउन मद्दत गर्नेछ ।”

अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइफाड) को आर्थिक सहयोगमा सञ्चालित यस परियोजनाले स्थानीय तहमा खाद्यान्नको आपूर्ति व्यवस्थालाई सहज बनाउन ठूलो सहयोग गर्नेछ । पूर्वी अर्फिकाका यी तीन मुलुकले वार्षिक करिब ५० करोड अमेरिकी डलर बराबरको खाद्यान्न आयात गर्दछन् ।

“यो परियोजनाबाट केन्याका धेरै घरपरिवारमा खाद्य तथा पोषण सुरक्षा वृद्धि हुने, रोजगारी बढ्ने छ,” केन्याका कृषि, पशुपालन तथा मत्स्यपालन मन्त्रालयका सविच म्वान्गी किउन्जुरीले बताए ।

उनले परियोजनाका कारण केन्यामा वार्षिक चार लाख मेट्रिक टन धान बढी उब्जाउ हुने विश्वास व्यक्त गरे । केन्याली कृषकले हाल वार्षिक करिब ७० देखि ८० हजार मेट्रिक टन धान मात्र उत्पादन गरिरहेका छन् ।