पर्यटन/संस्कृति

गुरु नानकको ५५०औँ जन्मजयन्तीको अवसरमा शिख साहित्य प्रवद्र्धन गरिने

पटना । समाजमा विद्यमान जातीय विभेद्को अन्त्य गरी सामाजिक न्याय, समानता, भ्रातृत्व कायम गर्न शिख दर्शन र साहित्यको प्रवद्र्धन गरिने भएको छ ।

शिख धर्मावलम्वीका प्रवर्तक श्री गुरु नानक देवजी महाराजको ५५०औँ जन्मजयन्तीको अवसरमा भारतको पटनामा हालै आयोजित धार्मिक सम्मेलनले शान्ति, अहिंसा र मानव कल्याणका लागि धार्मिक ग्रन्थको अत्यधिक उपयोग गर्न सम्बन्धित धर्मावलम्बीलाई आग्रह गरेको छ । विश्वका विभिन्न मुलुकमा छरिएका ती धर्मावलम्बीले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रका विकासमा लगानी गरी प्राप्त हुने आम्दानीको निश्चित एकाइबाट विद्यालय, अस्पताल स्थापना गरी मानवसेवालाई थप प्राथमिकतामा राख्न धार्मिक सम्मेलनले निर्देशन दिएको हो ।

सबै धर्मको सार एउटै हो, ईश्वर सर्वव्यापी छन् भन्ने मान्यता राख्ने शिख धर्म एकेश्वरवादी धर्म हो । सन् १४६९ अप्रिल १५ कात्तिक पूर्णिमामा लाहोर नजिकै तलबन्डी गाउँमा जन्मिएका गुरु नानकले शान्ति, अहिंसा, परोपकार, स्वाभिमान जस्ता विषयवस्तुलाई महत्व दिएर स्थापना गरेको यस धर्ममा मानव कल्याण र समाजसेवामा समर्पित रहन अनुयायीलाई शिक्षा दिइएको श्री गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्रका अध्यक्ष जसपाल सिंहले जानकारी दिए ।

शिख धर्ममा दश गुरुमा नानक देव, सतगुरु अङ्गददेव, अमरदास, रामदास, अर्जुनदेव, हरगोबिन्द, हरिराय, हरिकृष्ण, तेगबहादुर र गोविन्द सिंह छन् । यी धर्म गुरुले स्थापित गरेका आदर्श, ज्ञान तथा मान्यतालाई ग्रन्थमा समेटिएको छ । त्यसलाई गुरु ग्रन्थ भनिन्छ । अहिले अनुयायीले उक्त ग्रन्थलाई नै देवताका रुपमा पूजा गर्ने र त्यसमा भएका ज्ञानलाई अवलम्बन गर्ने गरेको पाइन्छ । गुरु नानकलाई प्रथम धर्म गुरुसमेत भनिन्छ र उनको गाउँ ननकानाका नामले प्रख्यात छ । ननकाना पहिले भारतमा थियो तर विभाजनपछि हाल यो पाकिस्तानमा छ । धर्म रक्षाका लागि मार्ग दर्शन गर्नुभएका नानकको दशौँ अवतारका रुपमा गुरु गोविन्द सिंहलाई मानिएको छ ।

उनको ३५३ वर्ष अघि भारतको पटनामा जन्म भएको थियो । उक्त पुण्य स्थानमा विश्वका कुनाकुनाबाट शिख तथा अन्य धर्मावलम्बी पुग्ने गर्छन् । विगतमा मुगलहरुले भारत वर्षमा युद्ध गरी वैदिक सभ्यता तथा परम्परामा आक्रमण गरेपछि गोविन्द सिंहको नेतृत्वमा ठूलो युद्ध भएको इतिहास पाइन्छ । दैवी शक्ति प्राप्त गुरु गोविन्द सिंहले सनातन धर्मको रक्षाका लागि शुरु गरेको उक्त युद्धमा मुगल पराजित हुँदा गुरुको चार छोराको समेत मृत्यु भएको थियो । उक्त युद्धमा प्रयोग गरिएका विभिन्न अस्त्र, शस्त्र, धार्मिक ग्रन्थको समेत अहिले संरक्षण गरिएको छ । ऐतिहासिक, धार्मिकस्थलका रुपमा रहेका उक्त जन्मस्थलमा विश्वका शिख धर्मावलम्बी सामूहिक रुपमा दर्शन गर्ने गर्दछन् ।

गुरु नानकको उपदेशको अनुसरण गरे दुःख, कष्ट र झन्झटमुक्त हुने बताइएको छ । पाकिस्तानबाट एक धार्मिक प्रतिनिधिमण्डलले गत साउनको दोस्रो सातादेखि भारतका विभिन्न शहरमा अन्तरर्राष्ट्रिय नगर कीर्तन शुरु गरेकामा यही भदौ ७ गते पाटनस्थित गुरुद्धारमा कार्यक्रम गरेको थियो । कार्यक्रममा सहभागी हुन नेपाललगायत विभिन्न मुलुकबाट धर्मावलम्बी पुगेका थिए । प्रथम गुरु नानकको अवतारका रुपमा दशौँ गुरु गोविन्द सिंहको जन्मस्थलमा उक्त प्रतिनिधिमण्डल ऐतिहासिक रुपमा पहिलोपटक पुगेको शिख अनुयायी त्रिलोचन सिंहले बताए ।

समाजमा पाप, अन्याय व्याप्त भएका समयमा विभिन्न धर्मका महापुरुषले मानिस र समाजको भलाइका लागि मानवलोकमा अवतरित भई समाजको दुःखलाई हटाएको जनविश्वास छ । विश्वभर हाल करीब दुई करोड ७० लाख शिख छन् ।