लुम्बिनी

अस्पतालमा भाइरल ज्वरोका बिरामीको चापः सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव

बाँके । जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि बिरामीको उत्तिकै भीड छ ।

गर्मी र वर्षाका कारण भाइरल ज्वरोका बिरामीले अस्पतालका श्यया भरिएका छन् । गर्मी बढेसँगै यसक्षेत्रका नीजि तथा सरकारी अस्पतालमा पछिल्लो समय यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिङ्गान निस्कनेलगायतका लक्षण देखिन थालेपछि अस्पतालमा बिरामीको भीड लाग्न थालेको छ । भाइरल ज्वरोका बिरामी धेरै रहेका भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार बिरामीको चाप बढेपछि एउटै बेडमा दुई बिरामी राखेर उपचारसमेत गर्नुपरेको छ । मौसमी ज्वरोको समस्या पनि देखिएको छ, फाट्टफुट्टरूपमा स्क्रब टाइफसको समस्या पनि देखिएको छ”, उनले भने, “अहिले औषतमा हरेक दिन भेरी अस्पतालमा ४०÷५० भाइरल ज्वरोका बिरामी आउने गरेका छन्, बिरामीको चाप धेरै भएकाले कुनै पनि वार्ड खाली छैन ।”

अस्पतालको आकस्मिककक्षमा समेत एउटै श्ययामा दुई÷तीन बिरामी राखेर उपचार गराउनुपर्ने अवस्था छ । यी समस्याबाट सबैभन्दा धेरै गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी प्रभावित भएका उनले बताए । बिरामीको चाप धेरै भएकै कारण अस्पतालमा बिरामी थपिए भर्ना गरेर राख्न सकिने अवस्था नरहेको अस्पतालले जनाएको छ । श्यया खाली नहुँदा भेरी अस्पतालमा आएका बिरामीलाई भर्ना गरेर राख्न पनि समस्या भइरहेको छ ।

जसले गर्दा आएका बिरामीलाई अन्य निजी अस्पताल पुग्ने गरेका छन् । यो समयमा आउने ज्वरो अन्य समयको भन्दा जोखिमयुक्त हुने हुँदा समस्या देखिनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिएर औषधोपचारमा लाग्न चिकित्सकको सुझाव छ । भाइरल ज्वरोबाट सबैभन्दा धेरै बालबालिका प्रभावित भएका बाल विशेषज्ञ डा रोमा बोराले बताए ।

उनका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा दैनिक ५० प्रतिशत भाइरल ज्वरोबाट प्रभावित बालबालिका आउने गरेका छन् । बालबालिकामा रुघाखोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या अधिक देखिएको डा बोराले बताए । अस्पतालमा भर्ना भएर बसेका ८० प्रतिशतभन्दा बढी भाइरल ज्वरोकै बिरामी रहेका डा जीवन शर्मा बताउछन् । उनका अनुसार शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि यसको सङ्क्रमण उच्च देखिएको छ ।

खासगरी वर्षाको समयमा पिउने पानीको मुहान दूषित हुने कारणले पनि पानीजन्य ज्वरोका बिरामीको सङ्ख्या पनि उत्तिकै बढेको उनको भनाइ छ । उनका अनुसार उपचार नगरी धेरैजसो सिटामोलमा मात्र भरपर्ने गरेकाले पनि ग्रामीण क्षेत्रमा बिरामीको सङ्ख्या बढ्दै गएको हो । मौसम परिर्वतन, दुषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका फिजिसियन डा प्रकाश नागले बताए ।

उनले बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखापर्ने बताए । जिल्लाका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक ३०० बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिएमा थप जटिलता आउने चिकित्सकको भनाइ छ ।

सामान्य अवस्थाभन्दा बिरामीको सङ्ख्या केही बढेको भए पनि भाइरल प्रकृतिको ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामी कमै सङ्ख्यामा रहेका भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुपानन्द अधिकारीले बताएका छन् ।
गर्मी मौसम शुरु भएसँगै भाइरल ज्वरोका बिरामी बढेका भए पनि आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकको भनाइ छ । यो रोग श्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।