उर्जा

तनहुँ जलविद्युत् आयोजना निर्माणमा एक वर्ष ढिलाइ

ममौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि आयोजनाको निर्माणकार्य एक वर्षपछि धकेलिएको हो ।

बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेश गरेका छन् ।

चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनाम÷कालिका कन्ट्रक्सन÷नेपाल जेभीले पेश गरेको बोलपत्रको मूल्याङ्कन गर्ने काम भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक रमेशमान श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङ्कन गरी सारभूतरुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिनेछ । आगामी कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने तयारी थालेको छ ।

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत वैशाख १२ गते पुनः अन्तर्रा्ष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।  आयोजनाका प्रबन्धक श्रेष्ठका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति १६.१७ र आर्थिक प्रगति १२.३३ प्रतिशत रहेको छ ।

सिएमसीसँग ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्दा निर्माणको काम एक वर्ष ढिलाइ भएको श्रेष्ठले बताए । आयोजनाको २०० मिटर टेष्ट टनेल खनिसकिएको छ भने एक हजार २०० मिटरको मुख्य टनेल खन्न बाँकी छ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ ।

सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए ।

सिनो हाइड्रोले आयोजनाको पहुँचमार्गसम्म पुग्न एक हजार १०० मिटर ट्र्याक खोलिसकेको छ भने ४०० मिटर ट्र्याक खोल्न बाँकी छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ ।

कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्भे गरिरहेको अवस्था छ । आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ ।
यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण तथा उक्त कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण विसं २०८१ को असार दोस्रो साताभित्र (सन् २०२४ जुन) सम्पन्न गर्ने लक्ष्य रहेको छ ।