खेलकुद

विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाली टिम मैत्रीपूर्ण खेलमा पराजित

काठमाडौं । विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सोमबार मलेसियन लिग च्याम्पियन जोहोर साउदर्न टाइगर्ससँग भएको मैत्रीपूर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।

सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपालले पहिलो हाफको तेस्रो मिनेटमै गोल खाएको थियो । जोहोरको जितमा निकोलस अवर्टाेले डिबक्स बाहिरबाट फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए ।

प्रशिक्षक जोहान कालिनले विमल घर्तिमगरलाई एक्लो फरवार्डको रुपमा मैदान उतार्दै मिडफिल्डमा जोड दिएका थिए । तर नेपाली टिमले मलेसियन क्लबविरुद्ध जित निकाल्न भने सकेन । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।

छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।