अन्तर्राष्ट्रिय

लिबियाको तटीय क्षेत्रबाट एक सय ८० आप्रवासीको उद्धार

त्रिपोली । पश्चिमी लिबियाको तटीय क्षेत्रबाट आइतबार एक सय ८० गैरकानूनी आप्रवासीलाई उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले आइतबार सो जानकारी दिएको छ ।

युएनएचसीआरले एक ट्वीटमार्फत आप्रवासीका लागि लिबियाको भूमि सुरक्षित नभएको जनाएको छ । अप्रिलको सुरुदेखि नै राष्ट्रसंघ समर्थित लिबियाली सरकार र विद्रोहीबीच राजधानी त्रिपोलीलाई कब्जा गर्न भएको सशस्त्र सङ्घर्ष अझै जारी छ ।

अप्रिलदेखि जारी यस द्वन्द्वमा हालसम्म एक हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने पाँच हजार ७०० भन्दा बढी घाइते भएका छन् । यस द्वन्द्वका कारण एक लाख २० हजारभन्दा बढी सर्वसाधारणलाई आफ्नो घर छाड्न बाध्य तुल्याइएको छ ।

भूमध्यसागर पार गरेर गैरकानुनी रुपमा युरोप पुग्न चाहने अधिकांश आप्रवासीले लिबियाको बाटो प्रयोग गर्दछन् । यद्यपी धेरै आप्रवासीको भूमध्यसागरमा जोखिमपूर्ण डुङ्गा यात्राका क्रममा दुर्घटनामा परेर ज्यान जाने गरेको छ । लिबियाको हालको राजनीतिक स्थिति र अराजकताका कारण आप्रवासीका लागि असुरक्षित भएको युएनएचसीआरले जनाएको छ ।