पु.समाचार

रवि लामिछानेसहित तीनजनालाई थुनामुक्त गर्न अदालतको आदेश

भरतपुर । न्यूज २४ का पत्रकार रवि लामिछानेलाई चितवन जिल्ला अदालतले पाँच लाख धरौटीसहित रिहा गर्न आदेश दिएको छ । रवि लामिछानेसँगै काम गरिरहेका सहकर्मी युवराज कंडेललाई ३ लाख र नर्स अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।

पत्रकार शालिकराम पुडाशैनीको आत्माहत्यामा दुरुत्शाहन गरेको अभियोगमा प्रहरीद्वारा १० दिन अगाडी पक्राउ गरी मुद्धा चलेका लामिछानेसहित तीनजनालाई न्यायधीश हेमन्तप्रकाश रावलको ईजलासले रिहा गर्न आदेश दिएको हो ।

तारेखमा छाड्न आदेश दिएपनि उनीहरुले बाहिर बसेर नै आफ्नो पक्षमा फैसला पार्न पहल गर्नेछन् । दुरुत्शाहन मुद्धा प्रमाणित भएका ५० हजार जरिवाना र ५ बर्षसम्म कैदको ब्यवस्था मुलुकी अपराध संहिताको दफा १८५ मा रहे अनुसार कारबाही हुने कानूनविदहरुले बताएका छन् ।

आज फैसला हुने भनिएपछि रवि लामिछानेसमर्थकहरुसंग प्रहरीको झडप भएको थियो । रवि लामिछानेलाई अझै केहीदिन थुनामा राखेको भए देशभर आन्दोलनले उग्र रुप लिने सम्भावना रहेपनि आजको अदालतको आदेशपछि मंगलबारबाट केही साम्य हुने देखिन्छ ।

लोकतन्त्रमा विश्वास गर्नेहरुले अदालतको आदेशपछि बोल्दै पत्रकारलाई झटा आरोपमा थुनेर कारबाही चलाउनु गलत भएपनि थुनामुक्त हुनु लोकतन्त्रको जित भएको बताएका छन् ।