समाचार

काँग्रेसको मागः १० बर्ष काम गरिसकेका पत्रकारलाई किन निकालियो, तुरुन्त पुर्नबहाली गर्नुस्

काठमाण्डौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुर्नबहाली गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले झण्डै एकदशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई हटाइएकाले पुनःबहाली गर्न माग गरेका थिए ।

बैठकमा सांसदहरू तेजुलाल चौधरी, दामोदर भण्डारी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद तिमल्सिना, नारायणप्रसाद मरासनीले असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण पहाडमा पहिरो र तराईमा नदीले हजारौँ रोपनी जमीन मरभूमितुल्य बनाएकाले बाढीपीडितलाई राहत र खोला नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु देवप्रसाद गुरुङले रेञ्जर बटालिएन खारेज गर्न, देवेन्द्र पौडेलले राजमार्ग स्तरोन्नति गर्न र नवीना लामाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजिका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग माग गरेका थिए । यसैगरी सांसदहरु नवराज राउतले कर्णालीको राजधानी सुर्खेतस्थित शिखर शैली मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न, नवराज सिलवालले निजी अस्पताल तत्काल अनुगमन गर्न, नारायणप्रसाद खतिवडाले नुवाकोटकी बेपत्ता नागरिक चिनीमाया तामाङको खोजी गर्न र प्रमिला राईले डेङ्गु रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।