राजनीति

कम्युनिष्टको जनबिरोधी कदमबारे जनता जानकर छन्, समय आएपछि तरुण दलले भण्डाफोर गर्छःः अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाल तरुण दल भारत शाखाले दिल्लीमा आयोजना गरेको तरुण जागरण अभियान एवं सांस्कृतिक कार्यक्रम भब्य तरिकाले सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेत दिल्ली पुगेका थिए । २ दिन कार्यक्रममा पहिलो दिन छलफल भएको थियो दोस्रो दिन आईतबार भब्य रुपमा कार्यक्रम भएको थियो । छलफलमा नेपाल तरुण दल भारत शाखाको विकास र प्रवर्धनको लागि योजनाको खाका तयार गरिएको थियो ।

यस्तै हिजो भएको कार्यक्रममा भने नेपाली राजनीतिको बिषयमा बृहत छलफल भएको थियो । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेतले कार्यक्रममा बोल्दै तरुण दल अनुशासनमा कायम रहनु पर्ने र यसले नै नेपाल तरुण दललाई बलियो बनाउने उनले बताए । यस्तै उनले नेपाल तरुण दल माथि भईरहेको हस्तक्षेपको पनि बिरोध गर्दै नेपाल तरुण दललाई कमजोर नसम्झिन चेतावनी दिएका छन् । यस्तै देशमा कम्युनिष्ट सरकारको आतंकको बिषयमा पनि अध्यक्ष बस्नेतले खुलासा गरेका छन् ।

कम्युनिष्ट सरकारले भित्रबाट नै देशलाई खोक्रो बनाउदै लगिरहेको र जनताको अधिकार माथि नै धावा बोल्ने काम गरिरहेको बताएका छन् । निर्मला हत्या काण्ड देखि मेलम्ची खानेपानी घोटाला र बालुवाटार जग्गा काण्ड सम्मको कम्युनिष्ट सरकारको हर्कत सबैको अगाडी छर्लंग भएको समेत उनले बताएका छन् । लोकतन्त्रको रक्षाको लागि नेपाल तरुण दलले सुरुवाती दिन देखि नै आहुति दिदै आईरहेको र अब पनि हर समय आहुति दिन तयार रहने प्रतिबद्धता जाहेर गरेका छन् ।

यस्तै उनले नेपाल तरुण दल सबै तह र तप्काबाट एकजुट हुनुपर्ने र पार्टीलाई बलियो बनाउन तर्फ अग्रसर हुनुपर्ने समेत बताएका छन् । कार्यक्रममा भारत भित्रका अधिकांश तरुणहरुको उपस्थिति रहेको थियो । यस्तै उनीहरुले विदेश शाखामा तरुण दल माथि आईरहने कठिनाईको बारेमा पनि छलफल गरेका थिए ।