पर्यटन/संस्कृति

पर्यटन वर्ष २०२० लाई सफल पार्न शिवधाराबाट ‘समृद्विका स्वर’

खाँदबारी । सङ्खुवासभाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल शिवधाराबाट ‘समृद्विका स्वर शृङ्खला–दुई’ सम्पन्न भएको छ । मकालु साहित्य समाज सङ्खुवासभाले आयोजना गरेको ‘शिवधारातर्फ पाइला सारौं, पर्यटन वर्ष २०२० लाई सफल पारौं’ नाराका साथ सो शृङ्खला सम्पन्न भएको हो ।

गत साउन २६ गते सदरमुकाम खाँदबारीदेखि शिवधारासम्मको साप्ताहिक यात्रा गरिएको समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए । यात्राका क्रममा साहित्यकारले सेदुवास्थित ठूलो डाँडामा रचना वाचन गर्नाका साथै याङ्ले खर्कमा कवि गोष्ठी आयोजना गरेका थिए । उक्त गोष्ठीमा आधा दर्जनभन्दा बढी साहित्यकारले शिवधाराको पहिचान, सम्भावना र आवश्यकतालगायत विषयवस्तुलाई समेटेर रचना वाचन गरेका थिए ।

तीन हजार ६०० मिटरको उचाइबाट प्रस्तुत गरिएका विषयवस्तु र रचना वाचनले शिवधारालाई पर्यटककीय गन्तव्यको रुपमा अघि बढाउनाका साथै पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने बुढाथोकीले बताउनुभयो । गतवर्ष उक्त समाजले धार्मिक पर्यटकीयस्थल सभापोखरीबाट पहिलो शृङ्खला समापन गरेकामा सोही स्थानबाट एक दर्जनभन्दा बढी साहित्यकारले समृद्धिको स्वर गुञ्जिएको बुढाथोकीले बताए।

शिवधाराजस्तो धार्मिक पर्यटकीयस्थल ओझेलमा पर्न नहुने समाजका उपाध्यक्ष कृष्ण जिमीले बताए । यात्राले शिवधाराको प्रचारप्रसारमा सहयोग पुग्नका साथै नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने कोषाध्यक्ष रुद्र दर्जीले बताए ।यात्रामा समाजका पदाधीकारी, प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, मकालु गाउँपालिका कार्यवाहक अध्यक्ष चमेली राई, नेता तथा पत्रकारलगायत ३२ सहभागी थिए । उक्त यात्राको संस्मरणात्मक पुस्तक र डकुमेन्ट्री निर्माण गरिने जनाइएको छ ।