आर्थिक

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र साना तथा मझौला व्यवसायी महासंघबीच साना मझौला व्यवसायको प्रबर्धनका लागि सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौताबाट महासंघमा आबद्ध १२ हजार भन्दा बढी साना तथा मझौला व्यावसायी लाभान्वित हुने बताइएको छ । खासगरी न्यून आए भएका तथा विपन्न समुदायका व्यक्तिहरुलाई यो सम्झौताले लक्ष गरेको छ । सम्झौता अनुसार, व्यवसायीहरुले मेगा बैंकको प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइनेछ ।

साना तथा मझौला व्यवसाय संचालन गरिरहेका तथा नयाँ व्यवसाय संचालन गर्न चाहने नेपालभरका १८ देखि ६० बर्ष उमेरका व्यवसायीहरु यो सम्झौताबाट लाभान्वित हुने मेगा बैंकको विश्वास छ । यसैगरी, मेगा बैंकका अन्य कर्जा तथा सेवामा पनि साना मझौला व्यवसायीहरुलाई प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ ।