आर्थिक

चेम्वर अफ कमर्सका अध्यक्ष र चीनको मिनिस्टरबीच छलफल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज नेपालका लागि चीनको बेइजिङ स्थीत नेपाली राज दुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले चीनको बेइजिङ स्थीत राज दुतावासका मिनिस्टर (इकोनोमिक) पराजुलीसँग आपसी व्यवसाय प्रबद्र्धन सँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

उनले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएकाले यसको प्रभाव नेपालमा बढीपर्ने, जिरो ट्यारिफ र ८ अंकको एच.एस.कोड प्रयोग हुने हुँदा शुन्य भन्सार सुविधा लिन गाहे, सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने आपसी छलफलबाट तय हुनुपर्ने बताए ।

उनले दोश्रो बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपालप्रति देखाएको प्रतिबद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पुरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिए । चीन पहिलो बैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भएतापनि विभिन्न समझदारी तथा द्धिपक्षीय सम्झौता समयमा नै कार्यान्वयन हुनुपर्ने बताउदै पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।

उनले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यवसायीक कृषि, खनिज, सिमेन्ट, जडिबुटी, उद्योग र शिक्षा रहेको धारणा राखे । अध्यक्ष श्रेष्ठले चीनले प्रदान गरेको ४ वटा समुद्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाहाको अधितम प्रयोगमा जोड दिनुपर्ने बताए ।

उनले केरुङ, काठमाडौं, लुम्बिनी रेलवेको कार्य तिब्रताका साथ अगाडी बढाउनुपने र चीनको सिसिपिआईटी र नेपालको निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, सूचनाको आदानप्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राज दुताबासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा गरे ।

सो भेटमा चीनको बेइजिङ स्थीत नेपाली राज दुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीले दुई पक्षिय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउँने र दुवै मुलुकलाई आपसी फाइदा पुग्ने गरी आफू लाग्ने समेत रहेको प्रतिबद्धता जनाए । सो भेटमा चेम्बरका पदाधिकारी, नेपाल–चीन उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिती थियो ।