गण्डकी प्रदेश

पत्रकार गिरीलाई अदालतद्वारा सफाइ

चिप्लेढुङ्गा । साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार अर्जुन गिरीले अदालतबाट सफाइ पाएका छन् । जग्गा कारोवारमा कास्कीको पोखराका व्यवसायीबाट ठगिएका दुई जनाको पीँडालाई समेटेर समाचार बनाएपछि गिरीले व्यवसायीको मुद्दा खेप्दै आएका थिए ।

चार महिनापछि काठमाडौँ जिल्ला अदालतले सो मुद्दाको छिनोफानो गरेको हो । न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले गिरीलाई सफाइ दिएको हो । गिरीका विरुद्ध विपिन बतासले साइबर अपराध सम्बन्धी मुद्दा दायर गरेका थिए । विसं २०७६ वैशाख २ गते जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गिरीलाई पक्राउ गरी काठमाडौँ लगेको थियो । गिरीको पक्षमा वरिष्ठ अधिवक्ता बोर्णबहादुर बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यसअघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।