बाग्मती

नगरपालिकाले गरेको ढलान वडाले फुटाउन खोज्यो

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका र वडा कार्यालयको विवादका कारण वडा नं २ मा गरिएको रू १९ लाखको लगानी खेर जाने स्थितिमा पुगेको छ ।

पाञ्चायन नगर सुधार समितिले यहाँ आज आयोजना गरेको विकास निर्माण सम्बन्धी छलफलमा स्थानीयवासीले यस्तो आरोप लगाएका हुन् । तीन महीना अघि मात्रै नगरपालिकाले बुढाथोकी गाउँको उकालो ढलान गरेकामा एक साता अगाडि मात्रै वडा कार्यालयले भत्काउन आएको उनीहरूको गुनासो थियो ।

आयोजक संस्थाका अध्यक्ष वेदप्रकाश खरेलले वडा कार्यालय र नगरपालिकाको टसलले यो क्षेत्रको विकासमा असर परेको बताए । बुढाथोकी टोलको उकालोमा भएको ढलान तीन महीना नबित्दै वडा नं– २ का वडा अध्यक्ष राम थापामगर र वडा नं ३ का वडाध्यक्ष प्रेम कुटुले ढलान फुटाउन खोजेको बताए ।

वडा नं– ३ लाई पानी लैजानु पर्‍यो भन्दै ढलान फुटाएर काट्न थालेपछि स्थानीयवासीले विरोध गरेका थिए । विरोधका कारण तत्कालका लागि भत्काउने काम रोकिएको उनले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले नगरसभा नियमित हुन नसक्दा विकासका काम कार्यान्वयनमा आउन नसकेको बताए । नगरसभा सम्पन्न गर्न र बजेट ल्याउनका लागि सहजीकरण गरिरहेको बताउँदै उनले नगरसभा सम्पन्न नहुँदा थिमिको विकास पछाडि धकेलिएको छ भने ।