अन्तर्राष्ट्रिय

बस दुर्घटनामा बङ्लादेशमा ८ जनाको मृत्यु, १८ घाइते

ढाका । बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको मध्य भागमा पर्ने फरिदपुर जिल्लामा शनिबार भएको दुर्घटनामा परी अरु १८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

फरिदपुरको कोतवाली प्रहरी कार्यालयका प्रमुख एफएम नसिमले राजधानी ढाका र दक्षिणी खुल्ना क्षेत्रीय शहरलाई जोड्ने सडकमा दुर्घटना भएको पत्रकारहरुलाई जानकारी दिए ।

स्थानीय समय अनुसार दिउँसो २ बजेतिर दुर्घटना भएको उनले बताए । उनका अनुसार मोटरसाइकललाई बाटो दिन लाग्दा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई अस्पताल लगिएको छ । मृत्यु भएकामध्ये दुई जनाको अस्पतालमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

बङ्लादेशमा सडक दुर्घटनामा मृृत्यु हुनेको संख्या बर्सेनि धेरै रहेको छ । सडकको खराब अवस्था, पर्याप्त मर्मत नगरिएका सवारी साधन, ट्राफिक नियमको उल्लंघन, चालकको लापरवाही लगायतका कारणले दुर्घटना धेरै हुने गरेको जानकारहरु बताउँछन् ।