समाचार

‘सगरमाथा संवाद’ समितिको बैठक परराष्ट्र मन्त्रालयमा सम्पन्न

काठमाडौँ । नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान घोषणापछि प्राप्त राजनीतिक स्थायित्व तथा यहाँ उपलब्ध लगानीका अथाह अवसरबारे विश्व समुदायलाई जानकारी दिने उद्देश्यले आगामी फागुनमा आयोजना गरिने ‘सगरमाथा संवाद’ आयोजक समितिको पहिलो बैठक परराष्ट्र मन्त्रालयमा आज सम्पन्न भयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा भएको उक्त बैठकले आगामी शुक्रबार ‘सगरमाथा संवाद सञ्चालक समिति’ र ‘सगरमाथा संवाद आयोजक समिति’को संयुक्त बैठक गर्ने निर्णय गरेको हो । मन्त्री ज्ञवाली दुवै समितिका अध्यक्ष हुन् ।

बैठकले राष्ट्रिय गरिमासँग गाँसिएको सगरमाथा संवादलाई सफलतापूर्वक आयोजना गर्न संवादका कार्यसूची र विषयवस्तु शुक्रबारको संयुक्त बैठकमा प्रस्तुत गर्ने निर्णय गर्नाका साथै पर्याप्त समय नभएकाले संवादसँग सम्बन्धित सबै काम द्रुतगतिमा सम्पादन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत उपस्थित थिए ।