समाचार

लोकतन्त्र भिडतन्त्र होइन, न्यायको निसाफ न्यायलयबाट हुन्छ: सांसद बाँस्कोटा

काठमाडौँ । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

आजको बैठकमा उनले भने, “पूर्वराजाका छोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ कि छैन ? बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किंदैन । राजतन्त्र फर्काउने सपना कसैले नदेखे हुन्छ ।” सांसद बाँस्कोटाले लोकतन्त्र भिडतन्त्र होइन, न्यायको निसाफ न्यायलयबाट हुने चर्चा गर्दै सञ्चारकर्मी रवि लामिछानेका बारेमा सरकारको धारणा के हो ? स्पष्ट गर्न माग गरे ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले लोकतन्त्र र गणतन्त्र ल्याउन नेपाली काङग्रेस र वाम एकता भए झैँ लोकतन्त्र र गणतन्त्र बलियो बनाउन पनि दुई पार्टी एक ठाउँमा उभिन आग्रह गरे ।

उनले भने, “काङग्रेस र वाम पार्टीबीचमा पानी बाराबारको स्थिति होइन, एक अर्काका अस्तित्व स्वीकार्य हुनुपर्छ । संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार गर्न जानुअघि सर्वदलीय बैठक आयोजना गर्नुभएकामा म धन्यवाद दिन्छु ।”

सांसद युटल तामाङले मुगु जिल्लामा हालैको बाढीले जलविद्युत् आयोजना बगाउँदा अन्धकार भएकाले तुरुन्त मर्मत गर्न माग गरे । “बडादशैँको मुखमा कर्णालीका अधिकांश सडक सञ्चालन नभएकाले सडक मर्मतमा ध्यान दिँदै कर्णालीका जिल्लामा नियमित हवाई उडानको प्रबन्ध मिलाउनुपर्‍यो । कर्णालीमा कर्मचारी नम्बर लिन मात्र जानुभएन । विकास गर्छु भन्ने भावना लिनुपर्‍यो” उनले भने ।

अर्का सांसद रामप्रित पासवानले तराई।मधेशका डुबान पीडितलाई राहत दिएको भनिएपनि वास्तविक पीडितले नपाएको गुनासो गरे । प्रदेश २ लाई बाढी।डुुबानग्रस्त घोषणा गर्न माग गर्दै उनले सरकारले वितरण गरेको भनिएको रु सात करोड रकम कहाँ कुन जनताले पाए त्यसको हिसाब सार्वजनिक गर्नु पर्दछ भने ।

सांसद रामलखन चमारले नवलपरासीलगायत तराई।मधेशका १३ वटा उखु मिलले किसानलाई भुक्तानी नदिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै धानमा मल हाल्ने समयमा मल नपाएको बताए ।