समाचार

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस उपचार सुरु, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । उपचारको सिलसिलामा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका उनमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आज र अझ केही दिन निरन्तर रहने छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला सम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिङ्गापुर प्रस्थान गरेका थिए । यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए ।

केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि उनको मिर्गौलाको क्षमता अभिवृद्घिका लागि पुनः सिङ्गापुर गएका हुन् । प्रधानमन्त्रीको साथमा उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन् ।