अन्तर्राष्ट्रिय

मोटरसाइकल बम विस्फोटमा परी चारको मृत्यु, तीस घाइते

बग्दाद । इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् । इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाका मोटरसाइकलमा जडान गरिएको बम विस्फोट गराइएको थियो ।

यस विस्फोटबाट कैयौ पसल ,भवन र नजिकै रहेका सवारी साधनहरु ध्वस्त भएको पनि गृह मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।

तर इराकमा बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स (आइएस) समूहको नै यस आक्रमणमा हात रहेको हुनु पर्ने प्रहरीको दाबी रहेको छ । यद्यपी सन् २०१७ को अन्त्यबाट इराकमा नाटकीय रुपबाट सुरक्षा व्यवस्थामा सुधार भएको थियो ।