समाचार

लागुऔषध नियन्त्रणका लागि ‘म अघि बढ्छु’ अभियान

गलेश्वर । सोच्ने क्षमतालाई शून्य बनाउने लागुऔषध नियन्त्रण एवं रोकथाम गर्न प्रदेश सरकारले महत्वपूर्ण अभियान सञ्चालन गरेको छ । सगरमाथा टिन्स क्लबमार्फत ‘म अघि बढ्छु’ अभियान खासगरी प्रदेशका दुई हजार विद्यालयमा कार्यक्रम सञ्चालन गरी दुई लाख विद्यार्थीलाई यसका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको छ । प्रदेशभरिमा लगभग २० हजार युवायुवती लागू औषधमा नराम्रोसँग फसेका छन् ।

यसको सेवनले सेवन कर्तामात्र होइन परिवारजन र समाजमा पनि भयावह स्थिति सिर्जना गर्दछ । शरीर गलाउने, विकृति र विसङ्गतिको बाटोमा लैजान प्रेरित गर्ने, झग्डालु स्वभाव हुने र एकाग्र देखिने युवा युवतीलाई यो अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकाले यो अभियान सञ्चालन गरेको हो । लक्षित वर्गलाई सञ्चालन भएको यो अभियानबाट लागुऔषधका सेवनकर्तालाई असल बाटो हिँडाउन र नयाँलाई रोक्न सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

प्रदेश नं– १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चालन भएको यो कार्यक्रम केही दिन पहिला प्रदेशका १५० विद्यालयमा एकैसाथ कार्यक्रम शुभारम्भ भएको हो । लागुऔषध प्रदेश नं १ मा पूर्व तर्फ झापाको काँकरभिट्टा सिमानामा पर्ने भारतको बजार पानीट्याङ्की, भद्रपुर नजिकै रहेको भारतको बजार गलगलिया र मोरङको विराटनगर महानगरपालिकासँग जोडिएको भारतको बजार जोगबनी र सुनसरीको भण्टावारीस्थितका बजार भीमनगर नाकाबाट बढी भित्रिने गरेको प्रहरीको अनुसन्धानमा छ ।

महेन्द्रराजमार्गको काँकरभिट्टा, दमक, इटहरी, धरान र विराटनगर आसपासका क्षेत्रमा बढी प्रयोग हुने लागुऔषध पहाडी जिल्लामा पनि यसको प्रयोग हुने र यसका लागि त्यस्ता युवा यस क्षेत्रमा आएर लागुऔषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । मोरङमा लागुऔषध प्रयोग गर्ने एक हजार ३७६ जनामा महिला एक प्रतिशत अर्थात १३ जना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागुऔषध क्षेत्रमा कार्यरत संस्था रिचमण्ड फेलोशिपका अध्यक्ष सञ्जीव चापागाईं मोरङमा लागुऔषध सेवनकर्ता छ हजार ४१५ जना रहेका जानकारी दिए ।

लागुऔषध सेवनकर्तालाई तीन महीनासम्म तालीम एवं सचेतना गराई पुनःघरपरिवारमा पुनःस्थापना गराउने उद्देश्य रहेको उक्त संस्थासँगै यस क्षेत्रमा कार्य गर्ने अझै आठ वटा संस्था रहेका अध्यक्ष चापागाईंले जानकारी दिए । मोरङमा गएको तीन महीनामा लागुऔषधका ४२ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्षमा सो अवधिमा ९७ मुद्दा दर्ता भएका प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । लागुऔषध सेवन गर्नेले निराशाका कारण, तनाव र पीडा विर्सन, अत्यन्त सुख महसुस गर्न लागुऔषध सेवन गने गरेको बताउने गरेका छन् ।

लागुऔषधको असर बारेमा सेवनकर्ताले केहीले अलिअलि थाहा भएको, केहीले थाहा नभएको, कसैले राम्रो जानकारी भएको प्रतिक्रिया दिने सेवनकर्तामध्ये एक पटक सम्पर्क आउने ७०८ जना, दुई पटक सम्पर्कमा आउने ४१५ जना र तीन भन्दा बढी पटक सम्पर्कमा आउने ४४ जना रहेका उपरीक्षक अधिकारीले बताए । लागुऔषध प्रयोगका लागि खर्चको व्यवस्थापन साथीभाइ, परिवारबाट, आफनै आम्दानीबाट गरिहेको सेवनकर्ताको सिकाइ ९५ प्रतिशतले दुव्र्यसनीबाट र पाँच प्रतिशतले टेलिभिजनबाट सिकेको जानकारी दिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

सुँघेर, खाएर र सिरिञ्जको माध्यमबाट प्रयोग हुने लागुऔषध सेवनकर्ताले दुव्र्यसनी साथीभाइ, लागुऔषध विक्रेताबाट, औषधि व्यवसायीबाट प्राप्त गरिरहेका छन् । सेवनकर्ताले लागुऔषध ३२ प्रतिशत नेपालमै र ६८ प्रतिशतले भारतबाट प्राप्त गर्ने गरेको रहस्य प्रहरीको अनुसन्धानमा देखिएको छ । डाईजोपामलगायत औषधिजन्य लागुऔषध, गाँजा चरेश, अन्य सेन्थेटिक र हिरोइन जस्ता लागुऔषध सेवन गर्नेको शैक्षिक योग्यता कक्षा १ देखि ५ का २३६ जना, कक्षा ६ देखि १० का ७५४ जना, कक्षा ११ देखि १२ का १७७ जना, स्नातकका १६४ जना र अन्यप्राविधिक योग्यता भएका ४५ जना फेला परेका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

सम्पर्कमा आएका सेवनकर्तामा मजदूर ५४४, चालक एवं सहचालक १६८, विद्यार्थी १३६, बैदेशिक रोजगारीमा रहेका ९१, बेरोजगार ७४ र कृषि पेशा अंगाल्ने २६ जना रहेका छन् । धर्मका आधारमा सेवनकर्तामध्ये हिन्दू एक हजार १४९, बौद्ध १३०, सबैधर्म मान्ने ३४, मुस्लिम ३३, क्रिश्चियन १९, किरात सात र इसाई धर्म मान्ने चार जना छन् भने उमेरका हिसाबले १२ देखि १५ वर्षका १२, १६ देखि २५ वर्षका ८३३, २६ देखि ४० वर्षका ५०४ र ४१ देखि ५० वर्षका २४ जना देखिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।