पर्यटन/संस्कृति

विराटनगरमा ऐतिहासिक रथयात्रा, ६ लाख हिन्दू धर्मालम्बीको उपस्थिति हुने अनुमान

विराटनगर । विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिने भएको छ । सो क्रममा कुनै अप्रिया घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले विराटनगर–१ बाट निकालिने ५२औँ रथयात्राको क्रममा ड्रोनसहित प्रहरीले सुरक्षा व्यवस्था सुदृढ गरेको बताए ।

विराटनगरलगायत सुनसरी, झापाका ग्रामीण क्षेत्र र सीमावर्ती भारतसहित करीब छ लाख भक्तजन रथयात्रामा सहभागी हुने भएकाले सुरक्षालाई विशेष प्राथामिकता राखिएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

सुरक्षा व्यवस्था सुदृढ बनाउनका लागि प्रहरी प्रधान कार्यालय काठमाडौँबाट विज्ञसहित ड्रोन क्यामेराको टोली विराटनगर आएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

रथयात्रा पोखरियाबाट शुरु भई तीनपैनी, गोल्छा चोक, वडा प्रहरी चोक, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक, महेन्द्र चोक, भट्टीभोड चोक, शनि मन्दिर चोक, भृकुटी चोक, मुनालपथ चोक, बरगाछी चोक, जनता नमूना स्कूल चोक हुँदै राधाकृष्ण मन्दिरमा गई समापन हुनेछ । विशेष पूजाआजा गरेपछि अपराह्न ३ः३० बजे पोखरियास्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालने भएको छ । रथयात्रा विराटनगरका ४० स्थानमा विश्राम गरिनेछ । रथयात्राको क्रममा विराटनगर क्षेत्रमा भक्तजनको ठूलो भीड लाग्ने गरेको छ ।