समाचार

विप्लव नेतृत्वको नेकपाद्वारा भदौ ९ गते बन्दको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी ९ भदौमा चितवन जिल्ला बन्दको घोषणा गरेको छ ।

विप्लव समूहका चितवन जिल्ला इन्चार्ज शार्दुल र सचिव ध्रुवद्वारा शुक्रबार जारी विज्ञप्तिमा पूर्वी चितवनस्थित राप्ति नगरपालिका–११ आहोलेवाङ्मा आफ्नो पार्टीले बनाएको प्रतीक्षालय प्रहरीले भत्काएको विरोधमा जिल्ला बन्द आह्वान गरिएको उल्लेख छ ।

प्रतीक्षालय भत्काउने कार्यले वर्तमान सरकार आफू पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने नीतिमा रहेको आरोप लगाइएको छ । ‘जनतालाई आतंकित बनाउँदै निर्माण भइरहेको प्रतीक्षालय भत्काउने र आगजनी गर्ने कार्य आफू पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने दम्भ हो’, विज्ञप्तिमा भनिएको छ ।

घटनाको विरोधमा विप्लव समूहले राप्ति नगरपालिका–११ को कार्यालयमा आगजनी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको जानकारी दिए ।