अन्तर्राष्ट्रिय

रोहिङ्ग्यालाई फिर्ता गर्न नसक्नु बङ्लादेशको कमजोरीः म्यानमार

एजेन्सी । दोस्रो पटक पनि शुक्रबार रोहिङ्ग्या शरणार्थीहरूलाई स्वदेश फर्काउन असफल भएकोमा म्यानमारले बङ्लादेशलाई दोष लगाएको छ । स्वदेश फर्किन एक जना रोहिङ्ग्या शरणार्थीले पनि सहमति नजनाएपछि त्यसमा बङ्लादेश नै दोषी रहेको म्यानमारले आरोप लगाएको हो ।

म्यानमारको सेनाले रखाइन राज्यमा रहेका बेला निर्दयी र अमानवीय व्यवहार गरेकाले आफूहरू त्यहाँ बस्न नसकेर विस्थापित हुनुपरेको शरणार्थीहरुले बताएका छन् । राष्ट्रसंघीय अधिकारीहरूका अनुसार म्यानमारबाट ७ लाख ४० हजार रोहिङ्ग्याहरु विस्थापित भएर छिमेकी मुलुक बङ्लादेश गइ बसेका छन् ।

म्यानमारको राखिने राज्यमा मुस्लिम र बौद्ध धर्माबलम्बीहरूबीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरु विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । विस्थापित भएका रोहिङ्ग्याहरूलाई बङ्लादेशमा शिविर बनाएर राखिएको छ । त्यहाँ उनीहरूलाई शिविर रहेको क्षेत्र भन्दा बाहिर हिड्ने स्वतन्त्रता दिइएको छैन ।

शरणार्थीहरुलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै दुई देशकाबीचमा सम्झौता भएको थियो । तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीहरूले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् ।

पछिल्लो पटक गत बिहीबार तीन हजार ५०० शरणार्थीहरुलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको दुबै देशका अधिकारीले बताएका थिए । तर शरणार्थीहरूले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास पनि अर्थहिन भएको छ । म्यानमारको विदेश मामिला मन्त्रालयले शुक्रबार फेरि दोषारोपणको क्रमलाई निरन्तरता दिएको छ ।

बङ्लादेशको तर्फबाट कागजपत्र बनाउने र प्रमाणीकरण फाराम बनाउने कार्यमा भएको त्रुटी, विवादास्पद परिचयपत्रलगायतका कारणले शरणार्थीहरु फर्किन आनाकानी गरिरहेको म्यानमारको विदेश मन्त्रालयको आरोप छ । “यो प्रक्रियाले उनीहरूलाई विश्वस्त तुल्याउन सकेको छैन,” मन्त्रालयका एक अधिकारीले भने । मन्त्रालयले शरणार्थीहरुलाई स्वदेश फर्काउन चीन र जापानले समेत सहजीकरण गरेको जनाइएको छ ।