अन्तर्राष्ट्रिय

सुडानमा बर्षा र बाढीबाट ५४ को मृत्युः २ लाख प्रभावित

एजेन्सी । अत्यधिक बर्षा र बाढीका कारण सुडानमा पछिल्लो समय ५४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । देशभरी गरेर एक लाख ९४ हजार जना प्रभावित भएको पनि मानवीय सहायतासम्वन्धी राष्ट्रसंघीय कार्यालयका अधिकारीहरूले जनाएका हुन् ।

राष्ट्रसंघका सुडानस्थित प्रतिनिधिलाई उद्धृत गर्दै शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार अधिकाँशको मृत्यु घरहरु भत्किएर तथा विद्युतीय कारणले भएको छ । जेनेभास्थित राष्ट्रसंघको मानवीय सहायता सम्वन्धी कार्यालयका प्रवक्ता जेन्स लैरकेले झण्डै ३७ हजार जना घरबार विहिन भएको जानकारी दिएका छन् ।

उहाँले भन्नुभयो, “अक्टोबर अन्त्यसम्म बर्षा भइरहने र बर्षाका कारण जुलाईदेखि अहिलेसम्म ३७ हजार भन्दा बढी घरहरू भत्किएका छन् ।”सवैभन्दा धेरै देशको दक्षिणी क्षेत्रमा रहेको ह्वाईट नाईल राज्य प्रभावित भएको छ । त्यस क्षेत्रमा मात्रै ६६ हजार जना प्रभावित भएको र १३ हजार घरहरु क्षतिग्रस्त भएको विवरण छ ।

देशका कुल १८ राज्यमध्ये १५ राज्य बाढीले प्रभावित भएको सरकारी अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा तत्कालका लागि खाद्य पदार्थ, बस्नका लागि शिविर, स्वास्थ्य सेवा, सफा खानेपानी, सफाईजन्य सामग्रीलगायतको आवश्यकता परेको छ । सरसफाई, बसाई र खानामा ध्यान दिएन भने रोगको प्रकोप पनि फैलिनसक्ने खतरा रहेको अधिकारीहरुको भनाई छ ।