राजनीति

राजनीतिक खिचातानी भन्दा सहमति र सहकार्यले देश विकास सम्भव: नेता भण्डारी

तनहुँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्ववनमन्त्री शङ्कर भण्डारीले आपसी सहमति र सहकार्यले मात्र देश विकास सम्भव रहेकोमा जोड दिएका छन् । तनहुँको भानु नगरपालिका–५ नावरुङमा निर्माण गरिएको देवीमन्दिरको उद्घाटन कार्यक्रममा आज नेता भण्डारीले राजनीतिक खिचातानीले देश विकास हुन नसकेकाले देश बनाउन सबै पार्टीबीच सहमति आवश्यक रहेको बताए ।

नेपालको राजनीतिक परिवर्तनका लागि सबै दलहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै नेता भण्डारीले विकासका सवालमा पनि दलहरुको एउटै आवाज हुनुपर्ने धारणा व्यक्त गरे । सिङ्गापुर, मलेशिया विकास हुन धेरै समय नलागेको भन्दै उनले नेपाल पनि विकासको बाटोमा अघि बढ्न सक्ने चर्चा गरे ।

नेता भण्डारीले कला र संस्कृति संरक्षणका लागि सबै जनता जागरुक हुनुपर्ने बताए । नेपाल कला र संस्कृतिमा धनी भए पनि कला संस्कृति लोप हुँदै जान थालेकोमा नेता भण्डारीले चिन्ता व्यक्त गरे ।

रु एघार लाखको लागतमा निर्मित मन्दिर वरपर तारबारका लागि पूर्वमन्त्री भण्डारीले रु एक लाख सहयोग गरेका थिए । साथै मन्दिर निर्माणका लागि वडा कार्यालयले रु दुई लाख सहयोग गरेको भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लले जानकारी दिए । बाँकी रकम स्थानीयवासीले श्रमदान गरेका थिए ।