समाचार

राष्ट्रिय सभामा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको भ्याली इन्टिच्युटमा मृत्यु भएका बारेमा प्रहरीले छानबिन नगरेकोप्रति गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा सांसद श्रेष्ठले भने, “सुर्खेत जिल्लाको हरिसुन्दर जैसीका छोरा बालकृष्ण जैसीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिन गरेको छैन, म यस कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।” सांसद श्रेष्ठका अनुसार जैसी कोरियन भाषा सिक्न बसेको भ्याली इन्टिच्युट कीर्तिपुरका सञ्चालकका छोरा हराएपछि जैसीलाई दोष लगाइएको थियो ।

प्रहरीले पक्राउ गरेर २४ घण्टा अुनसन्धान गर्दा आरोप लगाउने कुनै पनि आधार नभएको जनाएको थियो । विद्यार्थी जैसी निर्दोष छन् भनेर प्रहरीले छाडेको थियो । अनुसन्धानपछि प्रहरीले जैसीलाई गत साउन २७ गते छाडेको थियो । प्रहरीले छाडेको तीन दिनभित्र जैसीको एकाएक मृत्यु भएको थियो । परिवारले आरोपितको नाम राखेर प्रहरीमा किटानी जाहेरी दिँदा पनि छानविन गरेको छैन । सांसद श्रेष्ठले भने, “किटानी जाहेरी परेका व्यक्तिका बारेमा किन छानबिन हुन सकेन ? म त्यो कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु ।”

गाउँ नै पहिराको घेरामा पर्‍योः सांसद पाण्डे

सांसद बद्रीप्रसाद पाण्डेले बाजुराको गौरी गाउँमा तलको खोलामा बाढी गएर माथिबाट पनि पहिरो आएर गाउँनै पहिराको घेरामा परेकाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले त्यहाँका बासिन्दा घरबारविहीन भएका बताए । दुई मानिसको मृत्यु भएको र बूढीगङ्गा थुनिएको अवस्थामा बाजुरा र अछाम जोखिममा पर्ने अवस्था रहेको उनले सुनाए ।

सांसद पाण्डेले भने, “बर्खा लाग्दा सरकारले उद्धार र राहत वितरण गर्ने काम गर्ने तर सकिएपछि अवस्था सामान्य हुँदै जाने, अर्को वर्ष फेरि बर्खा लाग्छ डुबान हुन्छ, घरबारविहीन हुन्छ, तयारी केही पनि छैन, यस्तो अवस्थाका बारेमा सरकारको ध्यान जानुपर्छ ।” उनले पूर्वप्रधानमन्त्री सुशील कोइराला हुँदा विपद्सम्बन्धी गरिएको अध्ययन कार्यान्वयन गरी जोखिमपूर्ण बस्तीका बारेमा बेलैमा सोच्नुपर्नेमा जोड दिए ।

‘मैथिली भाषा नेपालको सभ्यता र संस्कृति हो’

सांसद खेमराज नेपालीले मैथिली भाषा देशको एउटा भाषामात्र नभएर सभ्यता र संस्कृति भएको हुँदा नेपाल टेलिभिजनले दैनिक पाँच मिनेटको समाचार रोक्न लगाएकोप्रति ध्यानाकर्षण गराएका छन् । देशमा नेपाली भाषाबाहेक दोस्रो र तेस्रोभन्दा बढी बोलिने भाषा मैथिली र भोजपुरी भाषा भएको, दैनिक पाँच मिनेट र साप्ताहिकरुपमा एक घण्टाको कार्यक्रम प्रसारण भइरहेकाले अहिले बन्द गरिनु सङ्घीयताको खिलाप भएको उनीको भनाइ थियो ।

सांसद नेपालीले भने, “मैथिली भाषाजस्तो एउटा प्रदेशमा मात्र सीमित छैन,। केन्द्रीय प्रसारणबाट आफ्नो भाषामा सुन्ने अवसर गुमेको छ, संसारबाट धेरै भाषा लोप हुँदै गएका छन्, नेपालको अन्य भाषालाई संरक्षण गर्न सरकारी मिडियामा प्राथमिकता दिनुपर्छ ।” प्रसारण भइरहेको भाषालाई हटाउनुका कारण दिन जानकारी गराउँदै उनले निर्णय फिर्ता लिन आग्रह गरे ।

सांसद रामपृत पासवानले सिटिइभिटीले छात्रवृत्तिको नजिता प्रकाशन गरेर दलितको कोटामा गैरदलित विद्यार्थीको नाम निकालिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । बारामा मधेशका दलित, क्षेत्रीय र जातीयरुपमा पछाडि परेको र संविधानले दलितको अधिकार सुनिश्चित गराउँदा पनि दलित भए मधेशी नहुने अनि मधेशी भए दलित नहुनेजस्ता प्रावधान हटाउनुपर्नेमा उनको जोड थियो ।

सांसद कमलाकुमारी ओलीले सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउन गरेको तयारीअनुसार ‘सुखी नेपाली र समृद्ध नेपाल’को अवधारणाअनुसार आगाडि बढाउनुपर्नेमा जोड दिए । पर्यटनको विकास गर्दा पूर्वदेखि–पश्चिमसम्मका पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने र साहसिक पर्यटन, कृषि, जलयात्रा, धार्मिक तथा सांस्कृति पर्यटनलाई केन्द्रमा राखेर काम अघि बढाउनुपर्ने उनले सुझाव दिए ।

उनले सुदूरपश्चिमको पर्यटनको सम्भावना बोकेको सैपाल, शुक्लाफाँटा, घोडाघोडी ताल, टीकापुर पार्क, कैलालीको चन्द्रमोलेश्वर मन्दिरलगायत स्थानलाई पर्यटन क्षेत्रका रुपमा दिगो विकासमा लाग्नुपर्ने सुझाव दिए । सांसद जीतेन्द्रनारायण देवले नेपाल–भारत सम्बन्धमा अहिले पनि १९५० को सन्धिकै बारेमा छलफल अगाडि बढिरहेको हुँदा सरकारले स्पष्टरुपमा आफ्नो धारणा राख्नु जरुरी भएको बताए ।

उनले भने, “विसं २०४६ को जनआन्दोलनदेखि नै यो १९५० को सन्धिका बारेमा कुरा उठेको र अहिले पनि त्यही कुरामा अल्झिरहेको छ, सरकारले त्यसबारेमा बोल्नुपथ्र्यो, लामो समयदेखि नेपाल–भारत सम्बन्ध असन्तुलन पैदा हुँदै गएको छ, नेपाल–चीन सम्बन्ध राम्रो बनाउँदै जाने तर भारतसँगको सम्बन्ध असन्तुलन बनाउँदै लैजाने गर्न हुँदैन ।”