स्वास्थ्य

नगरपालिकाद्वारा स्व अधिकारीका परिवारलाई रु पाँच लाख आर्थिक सहयोग

रुपन्देही । सडक दुर्घटनामा ज्यान गुमाएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीका परिवारलाई तिलोत्तमा नगरपालिकाले रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ । स्व अधिकारीको निवासमा आज आयोजित शोकसभामा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचारका क्रममा अधिकारीको सडक दुर्घटनामा ज्यान गएकाले उनको परिवारलाई यथाशक्य सहयोग गर्ने घिमिरेले बताए ।

नगरपालिकाले स्व अधिकारीका नाममा डायलसन अधिकारी पत्रकारिता अक्षय कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ । अक्षय कोषमा नेपाल पत्रकार महासङ्घ रुपन्देही, परिवारका सदस्य र तिलोत्तमा नगरपालिकाको समन्वय रहने गरी कार्यविधि तयार गरी सञ्चालन गरिनेछ प्रमुख घिमिरेले भने ।

तिलोत्तमा नगरपालिकाले आगामी असोजमा गर्ने लगानी सम्मेलनको प्रचारप्रसारका लागि पूर्वी नेपालको भ्रमणमा गएका अधिकारीको गत साउन ३२ गते पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा सडक दुर्घटनामा परी ज्यान गएको थियो ।