बाग्मती

बालर्गहबाट नौ बालबालिकाको उद्धार

काठमाडौँ । नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा अत्यन्त जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, बालबालिका खोजतलास केन्द्र, वडा कार्यालय, बालहेल्पलाइन तथा स्थानीय प्रतिनिधिको समन्वय र सहकार्यमा ‘नमूना प्रगतिशील महिला समाज र युवा सामुदायिक सेवा केन्द्र’ द्वारा सो घरमा जोखिमपूर्ण अवस्थामा राखिएका बालबालिकाको उद्धार गरिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुसालले जानकारी दिए ।

पाँचदेखि ११ वर्ष उमेर समूहका ती बालबालिकामध्ये बर्दियाका चार, कालीकोटका चार र कैलालीका एक रहेका छन् । उक्त संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, आवास तथा शिक्षा र संरक्षणको प्रबन्ध नगरेको पाइएकाले बालबालिकाको उद्धार गरिएको परिषद्ले जनाएको छ ।

हाल बालबालिकाको अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उक्त संस्थाका सञ्चालक तथा संलग्न व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।