स्वास्थ्य

मौसम बदलिएसँगै पखालाको सङ्क्रमण फैलियो

गलेश्वर । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ । मौसम बदलिएसँगै पानीको मुहानमा फोहर मिसिएका कारण पखालाको सङ्क्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ ।

वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखालाको सङ्क्रमण फैलिएकोे बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले जानकारी दिए ।

ल्याब परीक्षण गर्दा बिरामीमा रगतमासीसँग सम्बन्धित हिस्टोलिटीका जीवाणु भेटिएको डाक्टर बास्ताकोटीले बताए। फोहर पानी र खानेकुराका कारण पखालाको सङ्क्रमण हुने उनको भनाइ छ ।

अस्पतालमा आउने पखाला सङ्क्रमित बिरामीहरुमा हिस्टोलिटीका जीवाणु भेटिएको र एक सङ्क्रमित बिरामीको मिर्गौलामा समेत समस्या देखिएकाले भर्ना गरी उपचार थालिएको बताए । दैनिक १५ देखि २० जना बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

बेनी नगरपालिका–७ र ८ मा बढी यो पखालाको सङ्क्रमणको बिरामी अस्पताल आउने गरेका छन् । पखाला सङ्क्रमण हुँदा बिरामीलाई वाकवाकी लाग्ने, बिरामीको दिसामा रगतमासी देखिने र बिरामीलाई कडा खालको ज्वरो आउने जस्ता लक्षण देखिने डाक्टर बास्ताकोटीले बताए ।

पखाला नियन्त्रणका लागि विशेषगरी सरसफाइमा ध्यान दिनुपर्ने डाक्टर बास्ताकोटीले बताए । वर्षायाममा बढी यो रोग फैलिने भएकाले मुहानका पानी सफा राख्ने, घर वरिपरि सफा गर्ने र खानेपानी उमालेर पिउन मात्र सकेमा पखला सङ्क्रमणबाट बच्न सकिने उनले सुझाव दिए ।

दैनिक २०–२५ जना बिरामी अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।