गण्डकी प्रदेश

दरखाने कार्यक्रमसँगै लागुऔषधविरुद्ध सचेतना

बागलुङ । सभाकक्ष खचाखच थियो । मञ्चपट्टि थिए सांसददेखि प्रहरी अधिकारीसम्म । भित्तामा दुई ब्यानर देखिन्थे । एउटा दर खानेको, अर्को दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’को । आयोजक थिए, क्षेत्री महिला समाज र जिल्ला प्रहरी कार्यालय बागलुङ ।

तीजको मुखैमा बिहीबार समाजले महिला दिदीबहिनीलाई दर मात्र खुवाएन, लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना पनि जगायो । दरखाने कार्यक्रमलाई रचनात्मक बनाएकामा सहभागीले रुचाए पनि । प्रहरीले गत साता शुरु गरेको दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ लक्षित वर्गमा पु¥याउन उक्त कार्यक्रम पनि एक माध्यम बन्यो ।

तीजका बेला शहरतिर दैनिकजसो भइरहने दरखाने कार्यक्रममध्येमा सो कार्यक्रम सन्देशका हिसाबले भिन्न बन्न पुग्यो । दरखाने कार्यक्रम तडकभडकपूर्ण र खर्चिलो भयो भन्नेजस्ता आलोचनाबाट क्षेत्री महिला समाज केही हदसम्म भए पनि बच्यो । क्षेत्री पोशाकमा सजिएर आएका सयौँ महिला एकापसमा तीजको शुभकामना बाँडे, दर खाए, नाचे र दुव्र्यसनीविरुद्ध ज्ञान तथा सचेतना लिएर फर्के । “शुरुमा दरखाने कार्यक्रम मात्र बनेको थियो, पछि प्रहरीसँग मिलेर सचेतना कार्यक्रम पनि ग¥यौँ”, समाजका अध्यक्ष शिवकला थापाले भनिन् ।

दरखाने कार्यक्रममा प्रहरी प्रमुखलाई निम्ता गर्न जाँदा उक्त कार्यक्रम गर्ने प्रस्ताव आएको उनको भनाइ छ । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले लागुऔषध दुव्र्यसनीबारे सहजीकरण गरेका थिए । विद्यालय उमेरका बालबालिका र युवामा लागुऔषध दुव्र्यसनीको समस्या बढिरहेको भन्दै आमा र अभिभावकहरु सचेत हुनुपर्नेमा उनको जोड थियो ।

दुव्र्यसनीविरुद्धका सचेतनामूलक अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन ‘आमासँग प्रहरी कार्यक्रम’ सञ्चालन गरिएको प्रहरीको भनाइ छ । घरकै सदस्यमा दुव्र्यसनीको समस्या भए नलुकाउने, गोप्य सूचना दिनेजस्ता कुरामा आमाहरुले सघाउने प्रहरीको विश्वास छ ।

“दुव्र्यसनीको पीडा शुरुमा आमा र परिवारलाई पर्ने हुँदा अभियानमा आमाहरुबाट सकारात्मक सहयोग मिल्नेमा हामी विश्वस्त छौँ”, प्रहरी उपरीक्षक भट्टले भने, “कार्यक्रमबाट दुव्र्यसनीको पहिचान, उपचार, सुधार र कानूनी प्रक्रियामा सहजता थपियोस् भन्ने हाम्रो उद्देश्य हो ।”

प्रहरीले लागुपदार्थ सेवन गरेःनगरेको जाँच्न ‘किट’ प्रयोगमा ल्याएकाले त्यस्तो जाँचमा पनि अभिभावकले सघाउनुपर्ने जनाएको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ सञ्चालन ल्याइएको हो ।

कार्यक्रममा बोल्दै सङ्घीय सासंद मनकुमारी केसीले दुव्र्यसनीविरुद्ध महिला अगाडि आउनुपर्ने बताइन् । उनले तीज पर्वलाई महिलाको हक, अधिकार र एकतासँग जोडेर हेर्नुपर्नेमा जोड दिइन् । सांसद केसीले मञ्चबाट तीज गीत गाउँदा सहभागी महिलाले पनि गाएर र नाचेर साथ दिएका थिए ।

क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले क्षेत्री महिला समाजको क्रियाशीलताको प्रशंसा गरे । उनले दरखाने कार्यक्रमलाई महिला समाजले सार्थक बनाएको प्रतिक्रिया दिए । महिला समाज क्षेत्री समाज बागलुङको भातृ समाज हो । दरखाने कार्यक्रमका लागि क्षेत्री समाज र स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था बागलुङले आर्थिक सहयोग उपलब्ध गराएको थियो । क्षेत्री महिला समाजले हिजै साँझ मानव सेवा आश्रम बागलुङमा आश्रित व्यक्तिलाई समेत दर खुवाएको थियो