पर्यटन/संस्कृति

अठार हजारभन्दा बढी पर्यटकद्वारा कोशीटप्पुको अवलोकन

इनरुवा । अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् ।

सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५ः७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ सार्क मुलुकका र ३५२ विदेशी गरी कूल १८ हजार ७७३ पर्यटकले आरक्षको अवलोकन गरेको उनले जानकारी दिए।

आरक्षमा सबैभन्दा बढी कात्तिक महीनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम फागुन महीनामा पर्यटक आएको आरक्षको तथ्याङ्कले देखाएको छ । आरक्षमा कात्तिकमा दुई हजार सात सय चार जना पर्यटक आएको छ । तीमध्ये दुई हजार ६६२ नेपाली, सात सार्क मुलुकका र ३५ जना विदेशी रहेका छन् । त्यस्तै फागुनमा महिनामा ८९६ जना पर्यटक आएको छ । तीमध्ये ८२९ नेपाली, तीन सार्क मुलुकका र ६४ जना विदेशी रहेका छन् ।

आरक्षमा विभिन्न किसिमका चराचुरुङ्गी, पुतली, अर्ना, हात्तीमा सवार गर्नका लागि पर्यटक आएको आरक्ष प्रशासनले जनाएको छ ।