समाचार

संचारकर्मी माथीको हस्तक्षेप बन्द नगरे काँग्रेस कडा हुने डा संग्रौलाको ओली सरकारलाई चेतावनी

काठमाण्डौ । आजको प्रतिनिधि सभा बैठकमा श्रमजीवी पत्रकारहरूलाई रेडियो नेपालले बिनाकारण जागिरबाट निकालिएको बिषयमा नेपाली काँग्रेसकी साँसद डा डिला संग्रोलाले संसदको ध्यानाकर्षण गराएकी छन् ।

उनले संसदमा बोल्दै भनिन्, ‘सबै भन्दा जेठो सरकारी संचार माध्यम रेडियो नेपाल हो । अहिलेको संचारको युगमा रेडियो नेपालको विशिष्ट स्थान रहेको छ । तर आज वर्तमान सरकारले सरकारी सञ्चार माध्यमहरुलाई आफ्नो पार्टीको मुखपत्र बनाउने, कार्यकर्ताहरु भर्ती गर्ने तथा विपक्षीहरुका आवाजहरुलाई बन्द गर्ने काम गरिरहेको छ । सरकारले चालेको यस्तो कदमले भने हामीलाई झस्काएको छ ।’

यसै शिलशिलमा रेडियो नेपाल केन्द्रीय कार्यालय सिंहदरबारको निर्णय अनुसार सुदुर पश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा १० वर्ष देखी कार्यरत सञ्चारकर्मी सुनिता रावल, ३ बर्ष देखि कार्यरत सञ्चारकर्मी प्रकाश बम र चक्र कुवरलाई बिना कारण यहि भाद्र १ गतेदेखि हटाई आफ्ना कार्यकर्ता भर्ना गरेको आरोप लगाउँदै यस घटनाप्रति काँग्रेसको गम्भिर ध्यानाकर्षण भएको बताउँदै उनीहरुलाई स–सम्मान पुर्नवाहलीको लागि सभामुख मार्फत सरकारसँग जोडदार माग गरेकी छन्।

डा संग्रौलाले भनिन्, ‘हामीले लोकतन्त्रका लागि संघर्ष गर्दा प्रेस स्वतन्त्रताको सवाललाई जहिल्यै जोडदार रूपमा उठाउदै आएका छौं । सवाल मात्रै उठाएनौ पत्रकारिता बलियो र प्रभावकारी बनाउन जहिल्यै प्रयासरत रह्यौ । जसका कारण आज नेपाली पत्रकारिता बलियो रूपमा स्थापित हुदै गएको अवस्थामा सरकारका पछिल्ला कामले कतै लोकतन्त्रमाथी नै आघात पुग्ने हो कि भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।’

संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेको अवस्थामा विडम्बना नै भन्नुपर्छ सरकारले राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र पत्रकारिताको मूल्य मान्यता विपरीत पुर्ण नियन्त्रणमा राख्ने दुषप्रयास गरेको उनको भनाई छ ।

विवादित मिडिया काउन्सिल विधेयक, विद्युतिय कारोबार ऐन, आमसञ्चार विधेयक, विज्ञापन विधेयक लगायतले वर्तमान सरकारको मिडियालाई कत्तिको नियन्त्रण गर्न खोजेको छ भन्ने प्रष्ट भईसकेको उनको दाबी छ ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ संग्रौलाले सरकारी सञ्चार माध्यमहरुमाथीको हस्तक्षेप तथा सञ्चारकर्मीहरुको मनोबल गिराउने काम बन्द गरी पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टीका साथ त्यहाँ कार्यरत सञ्चारकर्मीहरुलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण मिलाउँदै हटाईएका पत्रकारहरुलाई तत्काल पुर्नबहाली नगरे काँग्रेसले कडा कदम चाल्न बाध्य हुने उनको चेतावनी छ । ।