समाचार

संसदीय समितिको प्रतिवेदन सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले संसदीय समितिहरुले मिहिनेतका साथ छानबिन गरेर तयार गरेको प्रतिवेदनलाई सम्बन्धित मन्त्रालयले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सापकोटाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालका रिसोर्टका बारेमा छानबिन गरेर तयार पारेको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेकाले यस विषयमा ध्यान दिन सम्बन्धित मन्त्रालयलाई आग्रह गरे ।

सांसद गगनकुमार थापाले नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित सामुदायिक क्यान्सर अस्पतालका रुपमा रहेको भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति विघटन गरी नयाँ व्यवस्थापन समिति गठन गरिएकामा आपत्ति जनाए । सांसद अतहरकमल मुसलमानले स्वतन्त्र पत्रकारिता विपरीत सरकारले दीपायल र डोटीमा रेडियो नेपालमा कार्यरत पत्रकारलाई आस्थाका आधारमा हटाइएकामा आपत्ति जनाए । सांसद जनार्दन शर्माले सहमति र सहकार्यका आधारमा अगाडि बढ्नका लागि सबै राजनीतिक दलसँग आग्रह गरे ।

सांसद अमृतादेवी अग्रहरीले सप्तरी जिल्लाका किसानलाई मलखादको अभाव भएकाकाले त्यसको आपूर्ति गर्न सरकारको ध्यानाकषर्ण गराइन् । सांसद आशाकुमारी विकले समानुपातिक र समावेशी सिद्धान्तका आधारमा लोक सेवा आयोगको विज्ञापन खुलाउनुपर्छ भनिन् । सांसद इन्दुकुमारी शर्माले काठमाडौँका विभिन्न स्थानमा भएको सडकको समस्या छिटो समाधान गर्न जोड दिइन् । सांसद उमा रेग्मीले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने जनतालाई सरकारले लाठी चार्ज गरेकामा आपत्ति जनाइन् । सांसद उमेश श्रेष्ठले जतिसक्दो चाँडो राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन गर्न सुझाब दिए ।

सांसदहरु झपडबहादुर रावल, कलिला खातुन, कुमारी मेचे, गङ्गा चौधरी सतगौवा, गोपालबहादुर बम, गणेशकुमार पहाडी, कृष्णगोपाल श्रेष्ठ, घनश्याम खतिवडा, कृष्णभक्त पोखरेल र खगराज अधिकारीले देशैभरिको सडक समस्या, कृषकका समस्या, बाढीपहिरोको समस्या र भूकम्पपछिको पुनर्निर्माणबारे सरकारको ध्यानाकर्षण गराए ।